झापामा झडप हुँदा सशस्त्र प्रहरीको गोलीबाट एक जनाको मृत्यु
झापामा गाई काटेको आशंकामा प्रहरीले दुई व्यक्ति र शंकास्पद मासु नियन्त्रणमा लिएपछि झडप हुँदा सशस्त्र प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ।
मृतकको पहिचान खुल्न सकेको छैन ।
झापाको झापा गाउँपालिका ३, पटुवामारीमा गाई काटेको भन्दै प्रहरी र सशस्त्र प्रहरीले घेरा हालेर मासुसहित दुई जनालाई नियन्त्रणमा लिएपछि स्थानीयले घेरा हालेर विरोध जनाएका थिए।
जनपद र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई स्थानीयले घेरा हालेपछि टाघनडुब्बा बोर्डर आउट पोष्टबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षक घटनास्थल पुगेका थिए।
घटनास्थलमा स्थानीयले उनीमाथि पनि आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ।
झडपमा सशस्त्र प्रहरीका ड्राइभर घाइते भएका छन्।
सशस्त्र प्रहरीले घटनास्थलमा १० राउण्ड हवाई फायर गरेको जनाएको छ। प्रहरीले पनि हवाई फायर गरेको एसपी दीपक पोखरेलले हिमालखबरलाई बताए।
अहिले प्रहरी र सशस्त्रको संयुक्त टोली आक्रमणकारीको खोजी गरिरहेको छ।