‘होम आइसोलेसन’ मा बसेका कोरोना संक्रमितलाई यसरी हौसला दिँदैछन् जनप्रतिनिधि
नेपालमा कोरोना महामारी शुरु भएसँगै यसले सामाजिक रुपमा दुर्व्यवहार समेत निम्त्यायो। देशका विभिन्न ठाउँमा जनप्रतिनिधि नै कोरोना संक्रमितलाई हुने दुर्व्यवहारमा संलग्न भएका घटना पनि सार्वजनिक भए। तर, कतिपय जनप्रतिनिधि र स्थानीय तहले होम आइसोलेनमा बसेका संक्रमितहरूलाई हौसला दिन सक्दो प्रयास गरेका छन्।
मुलुकमा महामारी फैलिएपछि कोरोना संक्रमितलाई मात्रै होइन, कतिपय ठाउँमा त परिवारलाई समेत दुर्व्यवहार भएका घटनाहरू सार्वजनिक भए। कतै होम आइसोलेसनमा बस्नेहरूलाई घरमा बस्न नदिने त कतै जनप्रतिनिधिहरू नै ‘संक्रमितको घर’ भन्दै ब्यानर टाँग्ने र गेटमा ताल्चा लगाइदिनसम्म पनि हिँडे।
तर कतिपय स्थानीय जनप्रतिनिधिले भने संक्रमितलाई नियमित भेटघाट गरेर हौसला दिने तथा पोषण भएका खानेकुरा खान भत्ता र फलफूलसमेत लिएर भेट गरिरहेका छन्।
कोरोना संक्रमितहरू बढ्दै जाँदा होम आइसोलेसनमा बस्नेहरू पनि बढिरहेका छन्। आइसोलेसनमा बस्नेहरूलाई टोल छिमेकबाट दुर्व्यवहार नहोस् र संक्रमितको पनि मनोबल बढोस् भनेर जनप्रतिनिधिहरू भेट्न जाने गरेका छन्।
ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन आफैं प्रायः सबै संक्रमितको घरसम्म पुग्छन्। पछिल्लोपटक उनी वडा नम्बर ८ मा रहेका संक्रमितहरूलाई भेट्न पुगे। गोदावरी नगरपालिकामा अहिलेसम्म ८० जना संक्रमित भए। त्यसमध्ये झण्डै आधा होम आइसोलेसनमा बसिरहेका छन्।
“पहिलो एकदुई जनालाई सामाजिक दुर्व्यवहारको प्रयास भएको थाहा भयो। संक्रमितको घर छेउका छिमेकीहरूमा पनि त्रास उत्पन्न भएको पायौं। त्यसपछि संक्रमितहरुलाई जनप्रतिनिधिले भेट्ने र समुदायसँग पनि छलफल गर्ने कार्यक्रम शुरु गरेका हौं,” महर्जनले हिमालखबरसँग भने।
उनले अहिलेसम्म संक्रमित भएर होम आइसोलेसनमा बस्ने प्रायः सबैलाई भेटेको बताए। उनले त्यसको मुख्य जिम्मेवारी सम्बन्धित वडाध्यक्षहरूलाई दिएका छन्।
वडाध्यक्ष समय मिलाएर जाने र नियमित टेलिफोन सम्पर्कमा रहने गरेको उनले बताए। त्यसरी भेटघाटका लागि जाँदा संक्रमित र परिवारलाई स्वास्थ्य सामग्री समेत नगरपालिकाले पठाइदिने गरेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिकाले पनि होम आइसोलेसनमा बस्ने र उनका टोलछिमेकसँग छलफल गर्ने नियमित कार्यक्रम नै बनाएको छ।
उपप्रमुख लक्ष्मी गौतम जनस्वास्थ्य अधिकृतसहितको टोली लिएर घरघरै पुगिरहेकी छन्। “एक्लै बस्नुपर्दा मानसिक तनाव हुनसक्छ। हामी गएर भेट्दा मानसिक रुपमा उहाँहरूलाई हौसला मिल्छ। त्यसैले नियमित भेटघाटमा जाने गरेकी छु,” गौतमले भनिन्।
उनले संक्रमित र परिवार तथा टोल छिमेकसँग कुराकानी गर्ने गरेकी छन् भने सँगै गएका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य मापदण्डका कुरा सिकाउने गरेका छन्। त्यसरी भेट्न जाँदा तत्काल चाहिने औषधिहरू पनि सँगै लिएर उनी एक हप्तादेखि भेटघाटमा लागिरहेकी छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले पनि होम आइसोलेसनमा बस्ने र उनीहरूका परिवार समेत बाहिर निस्किँदा जोखिम हुनसक्ने भएकाले दैनिक आवश्यक सामग्री नै खरीद गरिदिने गरेको छ।
उपप्रमुख जुना बस्नेतले संक्रमितलाई टोलछिमेकले गर्ने व्यवहार सकारात्मक हुनुपर्छ भनेर पहिलेदेखि नै जनचेतनाका कामहरू गरिरहेको बताइन्। त्यहाँ भने अहिलेसम्म त्यस्ता घटनाहरू सार्वजनिक भएका छैनन्। वडाका जनप्रतिनिधि र स्वयंसेविकहरूलाई पनि यसैका लागि खटिन स्थानीय तहले निर्देशन दिएको छ।
काठमाडौंको तारकेश्वर नगरपालिकाले पनि कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेका नगरभित्रका संक्रमितलाई प्रतिव्यक्ति रु.५ हजार दिने निर्णय गरेको छ। त्यसका साथै परिवारका सदस्यहरूलाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सुरक्षाका सामग्रीहरू पनि उपलब्ध गराइरहेको छ।
नगर प्रवक्ता एवं वडा नम्बर १ का विदुर सापकोटा संक्रमित हुनेबित्तिकै दिने भन्दा पनि १४ दिन पूरा भएर नेगेटिभ रिपोर्ट आएको तथा घरमै बसेको भन्ने प्रमाणित भएपछि दिने निर्णय भएको बताउँछन्।
“होम आइसोलेसनमा बस्न प्रेरित गर्नुपर्ने आवश्यक रहेको र सकेसम्म बस्न सक्ने व्यवस्था भए घरमै बस्नुपर्छ भनेर पनि यो निर्णय गरेका हौं। यसले पौष्टिक खानपानका लागि पनि सहयोग पुग्छ,” उनले भने।
नगरले लक्षण नभएका संक्रमितलाई सकेसम्म ठाउँ व्यवस्थापन गरेर आफ्नै घरमा बस्न आग्रह गरेको छ। नगर प्रवक्ता सापकोटा भन्छन्, “कुनै बेला भयानक अवस्था आएर आइसोलेसन सेन्टर नै नपाउने अवस्था पनि हुन्छ। त्यस्तो बेला बस्न मिल्ने वैकल्पिक व्यवस्था गर्नुपर्ने हुनसक्ने भएकाले यो कुरामा ध्यान दिनुपर्छ।”
काठमाडौंकै टोखा नगरपालिकाले पनि होम आइसोलेसनमा बस्ने संक्रमितहरूलाई प्रतिदिन रु.३५० नगद दिने निर्णय गरेको छ। संक्रमित हुनेलाई पौष्टिक तत्व खानुपर्ने भएकाले सहयोग गरेको उपपप्रमुख ज्ञानमाया डंगोलले बताइन्।
संक्रमित र उनीहरूका परिवारलाई आवश्यक सहयोग गर्न तथा कोरोना विरुद्ध जनचेतना जगाउन हरेक वडामा २०/२० जनाको स्वयंसेवक टोली नै गठन गरिएको उनले बताइन्।
काठमाडौं महानगरपालिकाले पनि वडाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरूले होम आइसोलेसनमा बसेकालाई दैनिक सम्पर्क गरेर कुराकानी गर्ने गरेको जनाएको छ।
ललितपुर जिल्लाका ६ वटै स्थानीय तहले त कोरोना संक्रमित र स्वास्थ्यकर्मीलाई सम्मानजनक व्यवहार गर्न मंगलबार संयुक्त अपील नै जारी गरेका छन्।