सरकारले विप्लवसँग वार्ताकाे प्रयास गरिरहेकाे छ : नेता नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले वार्ताको प्रयास गरिहरहेको बताएका छन् ।
प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले वार्ता र संवादको ढोका बन्द नगरेको भन्दै संवादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको बताए ।
विप्लवका कृयाकलापले सरकारले गर्न लागेको लगानी सम्मेलनलाई असर पर्ने भएकोले आतंकमुक्त गर्न त्यस्ता कृयाकलाप नियन्त्रण गरेको उनको भनाइ छ ।
“लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर कसरी लगानी सम्मेलन सफल हुन्छ ?” उनले भने “ यस्तो अवस्थामा बाह्य र आन्तरिक लगानीमा मान्छेको रुचि नहुने भएकोले त्रास र आतङ्कमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको छ ।”
मन्त्रिमण्डलमा नयाँ अनुहार पठाउने सवालमा नेता नेपालले सरकार गठन भएको एक वर्ष भइसकेकाले कामको मूल्याङ्कन गरी फेरबदल गर्नु उपयुक्त हुने बताए ।
अर्को प्रसङ्गमा उनले पार्टीको बैठक बसेर निर्णय हुन नसकेका कारण नेताले आफ्ना गुनासो बाहिर पोख्नुपरेको बताए । नेतृत्वले चाहेमा एक साताभित्र पार्टीको तल्लो तहसम्म एकता गर्न सकिने उनकाे भनाइ छ ।