'घरको पानीट्यांकीमा पैसा राखेको कुप्रचार गर्नेले म विरुद्ध स्वर उराले': उपप्रधानमन्त्री पोखरेल
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य ब्यांकमा भएको नियुक्तिको विषयमा आफू विरुद्ध अवाञ्छित आरोप लगाइएको भन्दै त्यसलाई घृणापूर्वक अस्वीकार गरेको बताएका छन्।
राष्ट्रिय वाणिज्य ब्यांकमा आफ्ना सम्धी डा. उपेन्द्र कोइरालाई नियुक्त गर्न हस्तक्षेप गरेको भन्दै आलोचना भएपछि पोखरेलले स्पष्टीकरण दिँदै आरोपमा कुनै सत्यता नभएको बताएका हुन्।
"मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएकाे वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन। भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्। कहींकतै पनि मेराे अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु," पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट पारेका छन्।
उनले अन्यथा भएको पाइएमा वा आरोप प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत बताएका छन्। "मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका/ गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु," उनले भनेका छन्।
उनले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण आफूले यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको“ कुप्रचार गरिएको र अहिले 'विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले आफू बिरूद्ध स्वर उरालिरहेको' बताएका छन्!
"म ती सबैलाई चुनौती दिँदै घृणापूर्वक अस्वीकार गर्दछु। सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु- तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै / कहिल्यै कमजोर हुन दिने छैन किमार्थ टुट्न दिने छैन," उनले भनेका छन्।
सबै महानुभावहरूमा अनुरोध ! ——————————- केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका...
Posted by Ishwar Pokhrel on Wednesday, August 26, 2020