बुधबार कोरोनाबाट ११ जनाको मृत्यु, मृतकको संख्या १७५ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ११ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने ११ जनामा २ जना महिला र बाँकी पुरुष रहेका छन्।
मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया दुई जना महिला रहेकी छन्। त्यस्तै पुरुषमा कैलालीका ४५ र ५० वर्षीय दुईजना, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीनजना, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय र बाराका ४१ र ४६ वर्षीय रहेका छन्।
नेपालमा पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना संक्रमित थपिएका छन् । यसमध्ये २९९ जना महिला र ५८६ जना पुरुष रहेका छन्। यससँगै मुलुकमा कोरोना संक्रमितको कुल संख्या ३४४१८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएर घर फर्किएका छन्। यससँगै अहिलेसम्म निको भएर घर फर्किनेको संख्या १९५०४ पुगेको छ।
मन्त्रालयका अनुसार हाल आइसोलेसनमा १४७३९ जना रहेका छन्। त्यसमध्ये ६०२८ जना होम आइसोलेसनमा र ८७११ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
त्यस्तै ९८३१ जना देशभरका क्वारेन्टिनमा रहेका छन्। मन्त्रालयका अनुसार देशभरका आईसीयूमा १५१ जना र भेन्टिलेटरुमा १४ जनालाई राखेर उपचार भइरहेको छ। त्यसमध्ये प्रदेश-१ मा १६ जना, प्रदेश-२ मा ४४ जना, बागमती प्रदेशमा ७१ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश-५ मा १७ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ।
प्रदेश-१ मा १ जना र बागमती प्रदेशमा १३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
थप सामग्री : https://www.himalkhabar.com/news/117620