निषेधाज्ञाका सवालहरु (भाग ३) - रामेश्वर खनाल
"कोरोना संक्रमण महामारी रोकथामका लागि बन्दाबन्दी र निषेधाज्ञा भोग्दै आए पनि विगतमा चिन्ता व्यक्त गरिंदै आएको जस्तो मुलुकको अर्थतन्त्र त्यति खराब भएको छैन। यो वेला हामीले दुई वटा सावधानी अपनाउनुपर्छ। पहिलो, व्यक्तिगत स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सकेसम्म बाहिर आवागमन नगर्ने। दोस्रो, बजारमा सम्पत्तिको मूल्यमा गिरावट आउने र आर्थिक विचलन हुने खालका क्रियाकलाप नगर्ने।
अहिलेको महामारी जस्तो संकट आउँदा शुरुआती अवस्थामा मानिसहरुमा प्रायजसो जमीन, सुनचाँदी आदि सुरक्षित सम्पत्तिमा लगानी गर्ने प्रवृत्ति हुन्छ। यही कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्न गयो। जब संकट गहिरिंदै जान्छ, मानिसहरुले भविष्यभन्दा पनि वर्तमानको चिन्ता गर्दै सम्पत्ति बेचेर बढीभन्दा बढी तरलता आफ्नो हातमा राख्न खोज्छन्। सबै व्यक्तिले सम्पत्ति बेच्न खोज्दा सम्पत्तिको मूल्यमा गिरावट आउँछ। सम्पत्तिको बजार धराशायी भयो भने त्यसले वित्तीय प्रणालीमा प्रभाव पार्छ। त्यस्ता आर्थिक व्यवहार गर्यौं भने त्यसले निम्त्याउने संकटमा हामी आफैं पनि पर्ने भएकाले गम्भीर बन्नुपर्छ।"
- रामेश्वर खनाल, पूर्व अर्थ सचिव