कोरोना नियन्त्रणबारे उपत्यकाका सांसदहरूबीच छलफल, सरकारको काम प्रभावकारी नभएको निष्कर्ष
कोभिड–१९ रोकथाम तथा नियन्त्रणकालागि सरकारले गरेका कामका बारेमा काठमाडौं उपत्यकाका सांसदहरूबीच छलफल भएको छ। उक्त छलफलबाट सांसदहरुले सरकारले प्रभावकारी काम गर्न नसकेको निष्कर्ष निकालेका छन्।
उपत्यकाभित्र अहिलेसम्म क्वारेन्टिन निर्माण गर्ने, आइसोलेसन निर्माण गर्ने, आईसीयू बेड र भेन्टिलेटरको संख्या बढाउने कुरामा सरकारले प्रभावकारी काम गर्न नसकेको सांसदहरूले बताए। नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले आईसीयू बेड र भेन्टिलेटरको संख्या बढाउन सरकारले चाँसो नदिएको बताए।
अहिले देशभर सञ्चालनमा रहेका र बिग्रिएर राखेका भेन्टिलेटरको संख्या १ हजार ५ सय भन्दा बढी नरहेको तर कोभिड १९ संक्रमितको उपचारमा अत्यन्त आवश्यक रहेको भएपनि सरकारले आयात गरेर संख्या बढाउन चाँसो नदिएको उनको भनाइ थियो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जीवनराम श्रेष्ठले संस्थागत आइसोलेसनको संख्या बढाउनुपर्नेमा जोड दिए। उनले अहिले काठमाडौं उपत्यकामा रहेका संक्रमितलाई होम आइसोलेसनमा राख्ने कुरा भइराखेको भन्दै बढी जनघनत्व भएको ठाउँमा होम आइसोलेसनमा राख्दा जोखिम बढ्नेतर्फ सरकारको ध्यान नदिएको बताए।
त्यस्तै कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गरिएका व्यक्तिहरूको नतिजा एक साता सम्म नआउँदा पनि संक्रमणको दरलाई कम गर्न नसकिएको उनको भनाइ छ।
नेकपाका अर्का सांसद कृष्णबहादुर राईले अहिले पीसीआर परीक्षणका लागि एक साताअघि स्वाब लिइएकोहरूको नतिजा आएको र निषेधाज्ञा जारी भएपछिको आइनसकेको भन्ने बुझिएको बताए । त्यसैले निषेधाज्ञाको प्रभाव कोरोना नियन्त्रणमा कस्तो परेको छ भन्ने अबको दुई तीन दिनमा मात्रै देखिने उनको भनाइ छ। उनले पीसीआरको नतिजा कुरिराख्ने स्थितिको अन्त्य गरी तत्काल नतिजा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।
नेकपाकी संसाद रामकुमारी झाँक्रीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि रकम खर्च गर्दा अख्तियार लाग्छकी भन्ने डर स्थानीय तहका जनप्रतिनिधिमा भएको बताइन्। सोही कारण प्रयाप्त मात्रामा क्वारेन्टिन र आइसोलेसन सेन्टरहरूको निर्माण हुन नसकेको उनको भनाइ छ। वित्तीय व्यवस्थापनमा राजनीतिक व्यक्तिले हस्तक्षेप नगरी कर्मचारीलाई काम गर्न दिए अख्तियारको डर मान्नुनपर्ने विषयमा सांसदहरूले स्थानीय जनप्रतिनिधिलाई बुझाउनुपर्नेमा उनले जोड दिइन्।
नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले उपत्यकाभित्र कोभिड १९ को संक्रमणको दर बढ्दै गएको अवस्थामा संघीय सांसदहरूको भूमिका थप प्रभावकारी बनाउने विषयमा जोड दिए। छलफलको संयोजन समेत गरेका सांसद प्रधानले स्थानीय तहलाई सघाउन र सचेतना बढाउने विषयमा काम गर्नुपर्ने आवस्यकता रहेको बताए।
पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि तीनवटै जिल्लाको प्रशासनले निषेधाज्ञा जारी गरेको छ । भदौ ३ गते मध्यरात देखि जारी भएको निषेधाज्ञालाई आज (बुधबार) बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १७ भदौसम्म निरन्तरता दिने निर्णय समेत गरेको छ।