निषेधाज्ञाका बीच पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि, रु. २ अर्ब ६५ करोडको कारोबार
बुधबार शेयर बजार परिसूचक नेप्से २१.१० अंकले बढेको छ । खरिदमा लगानीकर्ताको उत्साहसँगै नेप्से परिसूचक १ हजार ४६२ विन्दुमा पुगेको छ ।
अर्थतन्त्रका अन्य क्रियाकलाप शिथिल भएपनि पछिल्ला दिनमा नेप्से परिसूचक लगातार बढिरहेको छ । अन्य क्षेत्र ठप्प हुँदा व्यवसायी र लगानीकर्ता शेयर बजारमा सक्रिय भएका कारण नेप्से बढेको अनुमान गरिन्छ । ब्यांक तथा वित्तीय संस्थाले सहज ऋण प्रवाह गरेका कारण पनि बजार बढेको अनुमान गरिएको छ ।
निषेधाज्ञाका कारण आवतजावत बन्द भए पनि अनलाइनमार्फत बुधबार रु. २ अर्ब ६५ करोड ६१ लाखको कारोबार भएको छ ।
व्यापार र जीवन बीमा समूहबाहेक अन्य सबै समूहका उपसूचक सकारात्मक भएकोमा ब्यांकिङ समूह सर्वाधिक १.९१ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स १.६८ र विकास ब्यांक १.४३ प्रतिशतले बढे। बुधबार ११६ कम्पनीका शेयर मूल्य बढे भने ३४ कम्पनीका शेयर मूल्य ओरालो झरे । १६ कम्पनीको शेयर मूल्य स्थिर रह्यो ।
बुधबारको कारोबारमा सबैभन्दा धेरै एनआरएन पूर्वाधार र विकास कम्पनीका लगानीकर्ताले ९.८० प्रतिशत कमाए । नेपाल फाइनान्सका लगानीकर्ताले ७.७४ प्रतिशत नाफा गरे । तर, समृद्धि फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.७९ प्रतिशत गुमाए ।