काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा
काठमाडौं उपत्यकाका तीन जिल्लामा ३ भदौदेखि जारी निषेधाज्ञा थप एक साता कायम रहने भएको छ।
बुधबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १७ भदौ मध्यरात १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
यो निर्णय भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज मध्यरात १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेको छ।
उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च बनेपछि उपत्यकामा ३ भदौ मध्यरातदेखि लागू गरिएको निषेधाज्ञा आज मध्यरात १२ बजे सकिंदै थियो।
यसअघि काठमाडौं उपत्यकाका तीन जिल्लामा थप एक साता निषेधाज्ञा लगाउन तीनवटै जिल्लाका कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सिफारिश गरेका थिए।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु र उपत्यकाका नगरपालिकाका प्रमुखहरु समेत सहभागी तीन जिल्लाका केन्द्रको संयुक्त बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिन सिफारिश गरेको थियो। सोही अनुसार निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको हो।