तीन हजार टन मल नेपाल आइपुग्यो, ३२ हजार टन आउँदै
बिरगञ्ज र विराटनगरमा बुधबार तीन हजार टन युरिया मल आइपुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। बुधबार आइपुगेको मल बिहीबारबाटै बितरण शुरु गरिने तयारी भएको मन्त्रालयले जनाएको छ।
“विरगञ्जमा २६ सय टन र विराटनगरमा चार सय टन आइपुगेको छ। अब तत्काल बितरण शुरु गर्छौ”, मन्त्रालयका उपसचिव डा.गंगा आचार्यले भने। उनका अनुसार, मल बढी आवश्यक रहेको मोरङ, सुनसरी, झापा, राजविराज, रौतहट, सिन्धुली लगायत जिल्लामा पहिलाे चरणमा वितरण गरिनेछ।
आचार्यले लगातार ३२ हजार टन मल ल्याइने बताए। “अब मलको अभाव हुन्न। लगातार मल आइरहेको छ। पर्सी थप २५ सय टन आउँछ”, उनले भने। बन्दाबन्दीका कारण रोकिएको मल अब आउन थालेको आचार्यले बताए।