कैलालीका गाउँमा थारु युवाको संघर्ष: कोही भविष्य बनाउँदै, कोही समाज बदल्दै
घोडाघोडी नगरपालिका–७ की निर्मला चौधरी बाबुआमासँग लिएको अंश धितो राखेर डेरी चलाउँछिन्। वडा नं–२ का शंकर डगौराको नेतृत्वमा अहिलेसम्म १६ बहुविवाह र आठ बालविवाह रोकिइसकेका छन्। युवाहरुको सक्रियताले गाउँमा परिवर्तन हुन थालेको छ।
कैलालीको घोडाघोडी नगरपालिका–७ की निर्मला चौधरी (२८) अहिले डेरी चलाउँछिन्। पढ्न र व्यवसाय गर्न आफ्नै परिवारसँग विद्रोह गरेकी उनलाई डेरी खोलेपछि पनि ‘थारुले महीनावारी बार्दैनन्, यसको पसलको दूध कसले खान्छ?’ भनेर हल्ला चलाए। तर, निर्मलाले हिम्मत हारिनन्।
केटाकेटीदेखि नै उनको आत्मविश्वास बलियो थियो। ११ वर्षको हुँदा बुबाको मृत्यु भयो। आमा रामललिया डगौरालाई ३२ जनाको संयुक्त परिवारको नेतृत्व गर्नुपर्ने जिम्मेवारी थपियो। परिवारका सबै काममा जोतिनुपर्थ्याे।
समाजमा ‘छोरीलाई पढाउनु हुन्न’ भन्ने धारणा थियो। त्यसमाथि खान, लाउनै समस्या। कक्षा ५ पुगेपछि दाइले विद्यालय नजान उर्दी जारी गरे। तर, निर्मलाले अटेर गरिन्। बरु आफ्ना दुःख शिक्षकलाई बताइन्। उनले कापी, किताब किन्न सहयोग गरे।
उनी दुःखै दुःखमा १० कक्षा पुगिन्। एसएलसी उत्तीर्ण गरेपछि ५० प्रतिशत छात्रवृतिमा ‘प्लस टु’ पढ्न पाइन्। त्यही वेला जिल्ला शिक्षा कार्यालय अन्तर्गत सामुदायिक सिकाइ केन्द्रद्वारा सञ्चालित प्रौढ कक्षा पढाउने अवसर मिल्यो। त्यसबापत महीनाको रु.३ हजार तलब पाउन थालेपछि कापी कलम किन्ने समस्या टर्याे ।
उनी सामाजिक रुपमा पनि सक्रिय थिइन्। कुनै ठाउँमा कार्यक्रम हुने थाहा भयो भने पुगिहाल्थिन्। आफ्ना कुरा पनि राख्थिन्। कतिपय ठाउँमा उनले उठाएको विषयको सुनुवाइ नै हुँदैनथ्याे। तर, हिम्मत हारिनन्।
टोल, छिमेक र गाउँघरमा हुने सार्वजनिक भेला तथा कार्यक्रममा उपस्थित भएर आफ्ना कुरा राख्ने हक्की स्वभावले विस्तारै निर्मलाको खोजी हुन थाल्यो। २०६९ सालमा वडा नागरिक मञ्चको संयोजक भइन्।
त्यही क्रममा ओरेक नेपालको समन्वयमा महिला मानवअधिकार रक्षक सञ्जाल सुखड शाखाको सदस्य बनिन्। महिलाको हकहितका लागि सक्रिय हुने मौका पाइन्। अहिले उनी नगरस्तरीय युवा सञ्जालको सल्लाहकार छिन्।
सामाजिक रुपमा सक्रिय हुन थालेपछि उनलाई आर्थिक रुपमा पनि आत्मनिर्भर बन्नुपर्ने महसूस भयो। त्यसकारण डेरी संचालनका लागि दाइसँग पैसा मागिन्। तर, दाइबाट कुनै सहयोग भएन।
यहाँसम्म आइपुग्दा निर्मला आफ्नो अधिकारमा दाबी गर्ने भइसकेकी थिइन्। उनले आमाबाबुको सम्पत्तिमा अंश दाबी गर्दै २०७५ वैशाखमा घोडाघोडी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिइन्।
न्यायिक समितिले छलफलका लागि उनको परिवारलाई बोलायो। छलफलपछि उनले अंश पाउने भइन्। आफ्नो अंशको जमीन धितो राखेर निर्मला एक वर्षदेखि डेरी चलाइरहेकी छन्।
पसल शुरु गरेपछि समाजमा उनको कुरा काट्ने क्रम चल्यो। तर, उनले हिम्मत हारिनन्। अहिले उनको पसलको कारोबार राम्रो छ। सहयोग गर्नेहरु पनि बढेका छन्। भन्छिन्, “खुट्टा तान्न खोज्नेहरूसँग डराएर कामबाट पछि हटेको भए त म कसरी सफल हुन्थें र? आफूले भोगेका हरेक दुःख नै सफलताको हतियार हो।”
जसले रोके १६ बहुविवाह र आठ बालविवाह
घोडाघोडी नगरपालिका–२, साढेपानीका शंकर डगौरा (२६) बालविवाह र बहुविवाह विरुद्धको अभियानमा लागेका छन्। २०७२ सालमा नगरस्तरीय युवा सञ्जालको अध्यक्ष बनेपछि नगरपालिकासँगको समन्वयमा उनले बहुविवाह र बालविवाह विरुद्ध काम गर्न थालेका हुन्।
सञ्जालकै पहलमा १६ वटा बहुविवाह र आठ वटा बालविवाह रोकेको शंकर बताउँछन्। उनको समूहमा सबै युवा छन्। शंकरको समूहले उतिबेला विवाह रोकेका बालबालिका अहिले प्रगतिको बाटोमा छन्। शंकर भन्छन्, “उनीहरू कोही ‘प्लस टु’ पढिरहेका छन्। कोही राम्रो व्यापार व्यवसाय गरिरहेका छन्। यस्तो देख्दा निकै खुशी लाग्छ।”
शंकर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान, छाउपडी प्रथा, बालविवाह, बहुविवाह, घरेलु हिंसा लगायत विषयमा पैरवी, वकालत, सडक नाटक जस्ता गतिविधिमा सक्रिय भइरहन्छन्। नगरपालिकासँगको सहकार्यमा नगरभित्र भौतिक तथा सामाजिक विकासका कामलाई निरन्तरता दिइरहेका छन्। यही कामले समुदायमा उनको अलग पहिचान बनेको छ।
यसबीचमा शंकरको पहलमा चार वटा बलात्कारका घटनाका दोषीलाई कानूनी दायरामा ल्याउने सफलता मिल्यो। उनको कामबाट प्रभावित भएर नगरपालिका र स्थानीय प्रहरीले विभिन्न योजना बनाउने वेला सल्लाह, सुझाव लिन थालेको छ।
स्थानीय सरकारहरुको साथ
कैलालीका गाउँ गाउँमा अहिले निर्मला र शंकर लगायत युवा सक्रिय छन्। ओरेक नेपाल कैलालीकी संयोजक विनु रानाले ‘बालिका पैरवी परियोजना’ अन्तर्गत पाँच वर्षको अवधिमा धेरै परिवर्तन आएको बताइन्।
यो परियोजना गौरीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकासँगको सहकार्यमा लागू गरिएको छ। परियोजना अन्तर्गत किशोरी, युवा, महिला तथा धर्मगुरुहरूको नेतृत्व विकासमा सहयोग पुगेको र तिनै अगुवाहरूमार्फत लैंगिक हिंसा, बालविवाह, बहुविवाह, छाउपडी प्रथा, बोक्सीप्रथा जस्ता कुरीतिविरुद्ध आवाज उठाउने क्रम बढेको उनले बताइन्।
गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवाका अनुसार युवालाई स्वरोजगार बनाउन गत वर्ष विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको छ। यो वर्ष नीति तथा कार्यक्रममै रु.४० लाख बजेट त्यसकै लागि विनियोजन गरिएको छ।
व्यवसाय गर्न इच्छुक युवालाई प्राविधिक सहयोगसँगै रु.१ लाख बराबरको लगानीमा व्यापार गर्नेलाई ५० प्रतिशत अनुदान दिने कार्यविधि बनाइरहेको मेयर देउवाले बताए। नगरपालिकाले युवालाई स्वदेशमै काम गर्न सक्ने वातावरण सृजना गर्न युवा सञ्जालको माध्यमबाट विद्यालयस्तरीय कार्यक्रम सञ्चालन गर्दै आइरहेको पनि उनले जानकारी दिए।