मनाङका स्वास्थ्य कार्यालय प्रमुखलाई कोरोना संक्रमण, जिल्ला अस्पताल सिल
जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुखलाई कोरोनाभाइरस संक्रमण भएको छ। उनलाई संक्रमण देखिएपछि जिल्ला अस्पताल सिल गरिएको छ।
स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक सबै बन्द गरिएको मेडिकल अधिकृत डा. सन्तोष अधिकारीले जानकारी दिए। मंगलबार उनीबाहेक अर्का एक जनामा पनि संक्रमण भएको पुष्टि भएको छ।
भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको प्रेस विज्ञप्ति जारी गरी मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको जनाएको छ ।
मेडिकल अधिकृत डा.अधिकारीका अनुसार दुवै सङ्क्रमित २० साउनमा मनाङ प्रवेश गरेका हुन्। हालसम्म मनाङमा सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ। तीमध्ये एक जना निको भइसकेका छन्।