बाँकेमा कोरोनाभाइरस संक्रमणबाट ३७ वर्षीय युवाको मृत्यु
बाँकेमा कोरोनाभाइरस सङ्क्रमणबाट गए राति ३७ वर्षीय युवाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको हो।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार निमोनिया भएपछि उनी शिक्षण अस्पताल नेपालगञ्ज भर्ना भएका थिए। स्वासप्रस्वासमा समस्या भएपछि उनलाई ८ भदौ बिहान १० बजे नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गराइएको थियो।
कोरोनाको लक्षण देखिएका कारण स्वाब लिएर परीक्षण गर्दा हिजो सङ्क्रमण भएको पुष्टि भएको थियो। उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार भइरहेको थियो।
तर, राति १ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोतव्यक्ति श्रेष्ठले बताए। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको जानकारी दिए।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। यसअघि नरैनापुर गाउँपालिका–५ निवासी २५ वर्षीय युवा, बैजनाथ गाउँपालिका–६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिला र नेपालगञ्ज–५ निवासी ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भइसकेको छ।