निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा
पहाडी जिल्ला लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ। दोर्दी गाउँपालिका–६ ढोडेनीमा बनिरहेको आयोजनाको ९८ प्रतिशत काम सकिएको छ।
लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित २५ मेगावाट क्षमताको आयोजनाको टनेल र बाढीले बगाएको सामान स्टलेशनको काम भइरहेको प्रवद्र्धक राजेन्द्र वस्तीले बताए। उनले भने, “कोरोना भाइरसले असर नपारेमा करिब आगामी असोजभित्र आयोजनाको निर्माण सक्ने आयोजनाको लक्ष्य छ।”
आयोजनाको निर्माण २०७१ सालबाट थालिएको थियो। २०७४ मा सम्पन्न गर्ने लक्ष्य लिइए पनि विनाशकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा काम नसकिएको आयोजनाले जनाएको छ।
सम्झौताअनुसार आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने समयावधि गत ३० चैतसम्म थियो। सो मितिभित्रै निर्माण सम्पन्न गर्न नसकेपछि आगामी असोजसम्म आयोजनाको निर्माण सक्ने लक्ष्य रहेको वस्ती बताउँछन्।
आयोजनाको निर्माण अवधि थपिँदा लागत पनि रु.६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको छ। आयोजना निर्माणका क्रममा रु.३ अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर, बढेर हाल रु.४ अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ।
आयोजनाको लागत प्रतिमेगावाट रु.१८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ। आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुनेछ।
आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युत्गृहमा झारिने आयोजनाले जनाएको छ। आयोजनामा १२ दशमलव ५ का दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ।
आयोजनाको विजुली हिउँदको समयमा रु.८.४ र वर्षायाममा रु.४.८ मा बेच्ने प्रवद्र्धक कम्पनी लिवर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ।