दोस्रो जितसँगै सन्दीपको टीम तालवाहज चौथो स्थानमा उक्लियो
क्यारेबियन क्रिकेट लिग (सीपीएल) मा सन्दीप लामिछाने संलग्न जमैका तालवाहजले दोस्रो जित हात पारेको छ। लगातार दुई हारपछि तालवाहजले चौथो खेलमा गुयाना अमेजन वारियर्सलाई ५ विकेटले हराएको छ।
जितसँगै तालवाहज अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। आजको खेलमा तालवाहजले टस जितेपछि ब्याटिङ गरेको वारियर्सले ९ विकेट क्षतिमा १०८ रन मात्र बनाउन सकेको थियो। तालवाहजका लागि सन्दीप लामिछानेले एक विकेट लिए।
उनले शेरफाने रुथफोर्डलाई १ रनमा आउट गरे। ४ ओभर बलिङ गरेका उनले जम्मा १२ रन दिएका थिए।
तालवाहज अघिल्लो खेलमा वारियर्ससँगै पराजित भएको थियो। उक्त खेलमा पनि ४ ओभर बलिङ गरेका सन्दीपले ८ रन दिएर २ विकेट लिएका थिए। उक्त खेलमा पनि रुथफोर्ड सन्दीपकै बलमा बाहिरिएका थिए।
तालवाहजलाई दोस्रो जित दिलाउन आज बिहान सकिएको खेलमा अफगानिस्तानका अन्तराष्ट्रिय खेलाडी मुजिब उर रहमानले ४ ओभरमा ११ रन दिएर ३ विकेट लिए। फिडेल इड्वाड्र्सले पनि ४ ओभरमा ३० रन खर्चिएर ३ विकेट नै लिए।
तालवाहजले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष भेट्टाएको थियो। तालवाहजका लागि निक्रुमाह बोनरले सर्वाधिक ३० रन बनाए।
यो खेलपछि वारियर्स र तालवाहज दुवैको ४ अंक भएको छ। रनरेटका आधारमा वारियर्स तेस्रो र तालवाहज चौथो स्थानमा छन्। तर, वारियर्सले पाँच र तालवाहजले चार खेल खेलेका छन्।