बार्सिलोना छाड्ने मेस्सीको निर्णय !
स्पेनिस फुटबल महारथी बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने बताएका छन्।
फूटबलसम्बन्धी चर्चित् पोर्टल गोल डटकमले टीवाइसी स्पोर्टस् डटकमलाई उद्धृत गर्दै मंगलबार अबेर राति जनाएअनुसार मेस्सीले यसको जानकारी क्लबको बोर्डलाई गराइसकेका छन्।
"म यो समरमा बार्सिलोना छाड्न चाहन्छु", मेस्सीले बार्सिलोनाका प्रेसिडेन्ट जोसेप मारिया बार्टोमेउलाई भनेको उद्धृत गर्दै गोल डटकमले लेखेको छ। मेस्सीले यो निर्णय लिनुअघि क्लबका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोमनलाई भेटेका थिए।
तर, कोमनको पुनर्सरचना योजनासँग चित्त नबुझेपछि उनले यो निर्णय लिएको हुनसक्ने अड्कल गरिएको छ। यूरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ गोलको लज्जास्पद पराजय व्यहोरेपछि बार्सिलोनामा मेस्सीको भविष्यलाई लिएर अनेक अड्कलबाजी भइरहेका थिए।
समकालीन फुटबल दुनियाँमा सुपरस्टारको छबि बनाएका मेस्सी अर्जेन्टिनाका पनि कप्तान हुन्।
बार्सिलोनालाई सबैखाले उपाधिसम्म डोर्याएका मेस्सीले ६ पटकसम्म बलोन डिओर अवार्ड जितेका छन्।
३३ वर्षीय मेस्सीको व्यावसायिक फूटबलको सम्पूर्ण करिअर भने बार्सिलोनामै बितेको छ। उनी २० वर्षदेखि बार्सिलोनासँग आबद्ध थिए।
यसैबीच एपी (दी एसोसियटेड प्रेस)ले मेस्सीले बार्सिलोना छाड्ने निर्णय गर्दै त्यसको जानकारी क्लबको बोर्डलाई गराएको बार्सिलोनाले पुष्टि गरेको बताएको छ।
अहिलेसम्म मेसी स्वयंले भने यसबारे औपचारिक रुपमा केही बताएका छ्रैनन्। तर, अब उनी कहाँ जान्छन् भनेर ठूलो अड्कलबाजी हुन शुरु भइसकेको छ।