‘टाइम पास’ अर्थात् टिकटक !
भारतमा प्रतिबन्धित र अमेरिकामा प्रतिबन्ध लगाइने घोषणा गरिएको चिनियाँ स्वामित्वको एप टिकटक बन्दाबन्दीमा समय कटाउन विभिन्न भावभंगीमा रमाइलो गर्ने, प्रतिभा उजागर गर्ने र व्यवसाय प्रवर्धन गर्ने चर्चित डिजिटल मञ्च बनिरहेको छ ।
छिमेकी भारतले टिकटक प्रतिबन्ध लगाइसक्यो, संयुक्त राज्य अमेरिका र अष्ट्रेलिया पनि यही कदमतर्फ उन्मुख छन्, तर नेपालमा भने कोभिड–१९ का कारण बन्दाबन्दी र निषेधाज्ञामा टिकटकको प्रयोगमा व्यापक वृद्धि भएको छ ।
चिनियाँ स्वामित्व भएको यो एप आफ्ना लुकेका प्रतिभा ल्याउन मात्र होइन, फेसन, खानाका साथै थुप्रै अनलाइन व्यवसायका लागि सहायक भइरहेको छ । अरु त अरु पूर्व शाही दम्पती पारस र हिमानी शाहका छोरीहरू पूर्णिका र कृतिका जो प्रायःजसो नृत्य भिडियोहरू बनाउँछन्, टिकटकमा ‘हिट’ छन् । पछिल्लोपटक त छोरीहरुसँगको टिकटकमा हिमानीलाई समेत नाँचिरहेको देखियो ।
११ चैतमा घोषणा भएको बन्दाबन्दीको दुई सातापछि काठमाडौंका एक चिकित्सक भरत पोख्रेलले टिकटक प्रयोग गर्न थाले, आफ्नो र बहिनीको भिडियो पोस्ट गर्दै । दर्शकबाट प्राप्त कोभिड–१९ सम्बन्धी चिकित्सकीय प्रश्नहरूको उत्तर दिएर चार महीनामै उनले १३ हजार भन्दा बढी फलोअर्स बनाए । उनका भिडियोहरूमा चार लाख ‘लाइक्स’ पुगेको छ ।
“मलाई सोधिने अधिकांश जिज्ञासा स्वास्थ्य बारे नै हुने गर्छन् । नेपालमा यो ठूलो परिवर्तन हो किनभने बिरामीहरू सधैं खुलेर आफ्नो वास्तविक समस्या र बानीहरू बताउँदैनन्”, डा.पोख्रेल भन्छन्।
यातायातमा लागेको प्रतिबन्धका कारण धेरै नेपालीले टेलिमेडिसिनका रूपमा टिकटक प्रयोग गरिरहेका छन् – मुख्यतः संवेदनशील मानसिक स्वास्थ्य समस्याका सम्बन्धमा । बन्दाबन्दीका कारण मानसिक स्वास्थ्य सम्बन्धी समस्या र आत्महत्याका घटना देशभर बढेका छन् ।
“मैले के कुरा याद गरे भनें बन्दाबन्दीमा मानसिक स्वास्थ्य ठूलो समस्या बनिरहेको छ । धेरै मानिस मेरो बायोमा दिइएकोे इमेल मार्फत मसँग परामर्श लिन खोज्छन्”, डा.पोख्रेल थप्छन् ।
यो त टिकटक प्रयोगको एउटा पाटाे भयो, युवा वर्गका लागि टिकटक नृत्य, गीत, कसैले बोलेको नक्कल गर्ने, प्रभावशाली व्यक्ति मार्फत आफूलाई ‘ब्रान्डिङ’ गर्ने र आफ्ना विचार राख्न नै धेरै प्रचलित छ ।
गएको मेमा लद्दाखमा भएको हिंसात्मक सीमा भिडन्त बारे टिकटक बन्न थालेपछि भारत सरकारले यसलाई प्रतिबन्ध लगाएको थियो । अमेरिका र अष्ट्रेलियामा भने गोपनीयता र राष्ट्रिय सुरक्षालाई कारण देखाउँदै प्रतिबन्धित गरिएको छ, यस्तो गरिनुमा सिलिकन भ्यालीको कम्पनी भन्दा बाहिरको एपको बढ्दो लोकप्रियतालाई कारक मानिएको छ । ८० करोड भन्दा बढी सक्रिय प्रयोगकर्ता र विश्वभर दुई अर्ब पटक डाउनलोडका साथ शीर्ष पाँचमा रहेको यो एक मात्र गैर अमेरिकी टेक जायन्ट हो ।
चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वको टिकटकले प्रयोगकर्तालाई १५ सेकेन्ड वा ६० सेकेन्डको भिडियो राख्न दिन्छ ।
बन्दाबन्दी हुनुअघि भारतमा मात्र टिकटकका ६० करोड सक्रिय प्रयोगकर्ता थिए अर्थात् जनसंख्याको ४४ प्रतिशत । विश्वभर टिकटकको समग्र डाउनलोडलाई आधार मान्ने हो भने भारतले लगभग २५ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । भारतमा यसको प्रतिबन्धलाई लिएर सरकारको व्यापक आलोचना भइरहेको छ ।
भारतीय इन्टरनेट सेवाप्रदायक कम्पनीहरू एअरटेल, भोडाफोन र आइडियाले २९ जूनबाट आफ्नो गुगल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध टिकटकमा प्रतिबन्ध लगाइसकेका छन् । केही मोबाइल सेवा प्रदायकले भने भिपिएन मार्फत प्रयोग गरिने प्रविधिलाई पनि निरुत्साहन गर्न सफल भएका छन् । प्रतिबन्ध पश्चात टिकटकलाई लस एन्जलसमा रहेको थिलर एपले केही हदसम्म विस्थापित गरेको छ ।
काठमाडौंका पराक्रम जङ्गबहादुर राणाले डिसेम्बर २०१९ देखि टिकटक प्रयोग गर्न थालेका हुन् तर बन्दाबन्दीपछि उनले बढी पोस्ट गर्न थालेका छन् । फेसन र जीवनशैली भ्लगर उनको २० हजार भन्दा बढी फलोअर्स छन् भने हरेक भिडियो औसतमा ५०–६० हजार पटक हेरिएको छ ।
“टिकटकमा रमाइला चीजहरू पोष्ट गर्ने यो नै सबैभन्दा उपयुक्त समय लाग्यो किनभने यतिबेला समय कटाउनु छ”, उनी भन्छन् ।
“यहाँ बढी कुराकानी हुन्छ जुन अचम्मलाग्दो छ किनभने इन्स्टाग्रामको तुलनामा टिकटकमा मेरो फलोअर्स संख्या आधा छ” राणा थप्छन्, “टिकटक यस मानेमा फरक छ कि धेरै मानिसमा पुग्ने यसको तरिका छ । यसमा आफूले फलो नगरेको मान्छेका भिडियोहरूमा सजिलै स्वाइप गर्न सकिन्छ ।”
नेपालमा जन्मेका गायक कर्टिस वाटर्स आफ्नो गीत ‘स्टनिन’ टिकटकको माध्यमबाट प्रवर्धन गर्न सफल भए, जुन पूरै विश्वभर भाइरल हुन पुग्यो ।
बन्दाबन्दीको एक महीनापाछि ममता शिवाकोटीले पनि टिकटक चलाउन थालिन् । मनोरञ्जनका लागि उनी नाचेको भिडियो पोस्ट गर्थिन्, अरु बेला यसो गर्ने समय उनीसँग थिएन । “टिकटकले मलाई १५ सेकेन्डदेखि एक मिनेटसम्म नाच्नको लागि मञ्च दियो”, उनी भन्छिन् ।
केही चिकित्सकले टिकटकलाई पेशागत परामर्श लागि प्रयोग गरेका देखेपछि अधिवक्ता शिवाकोटीले पनि यो मञ्चमार्फत कानून परामर्श दिन थालिन् । उनको ‘नेपालमा अधिवक्ता कसरी बन्ने ?’ भन्ने पहिलो भिडियोले एक लाख ७३ हजार भ्युज प्राप्त गर्याे । विवाहका लागि कानूनले मान्यता दिएको उमेर सम्बन्धी अर्को भिडियो पनि भाइरल भयो ।
“टिकटक धेरै नै प्रख्यात हुनुको कारण यसको सहज इन्टरफेस नै हो जहाँ तपाईंले अडियो, भिडियो, र सम्पादन गर्ने कुरा सबै एपमा नै प्राप्त गर्न सक्नुहुन्छ”, उनी भन्छिन् ।
उमेर नपुगी विवाह गरेका महिलाहरूले सम्बन्धविच्छेदका लागि मुद्दा हाल्नुपर्याेे या घरेलु हिंसा सम्बन्धी उजुरी हाल्नुपर्याेे भने सामना गर्नुपर्ने चुनौतीबारे पनि उनले टिकटक भिडियो बनाएकी छन् । शिवाकोटीले यो पोस्टका लागि निकै आलोचना खेप्नु पर्याेे, सम्बन्धविच्छेदलाई बढावा दिएको भन्ने आक्षेप पनि उनलाई लगाइयो । केही दर्शकहरूले त उनी अधिवक्ताको सट्टा बार डान्सर हुनुपर्ने प्रतिक्रिया समेत व्यक्त गरे ।
“बन्दाबन्दी पहिले सामाजिक संजालमा धेरै समय बिताउनु समयको नाशका रुपमा लिइन्थ्यो, तर अहिले पुरानो पुस्ताले पनि यसको महत्व बुझेका छन्”, शिवाकोटी थप्छिन् ।
टिकटकका ४१ प्रतिशत प्रयोगकर्ता १६ देखि २४ वर्ष उमेर समूहका रहेका छन् तर आफ्ना सामग्री पस्कन अलि बढी उमेर समूहका मानिसले पनि यो एप चलाइरहेका छन् ।
अनिश तामाङ एक बडी पेन्टर हुन् तर उनको धेरै जसो मेकअप टिकटकका लागि हुन्छ । उनले मेकअप मार्फत गर्न सकिने परिवर्तनको भिडियो पनि राख्दछन् ।
“मैले टिकटक प्रयोग गर्न थालेको एक वर्ष भयो” तामाङ भन्छन्, “अरु सामाजिक सञ्जालभन्दा अहिले टिकटकमा मलाई हेर्नेहरु बढेका छन्।”
टिकटकले धेरैलाई आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्ने अवसर दिए पनि बाइटडान्स म्युजिकल्लीसँग गाभिनु दुई वर्ष अघिदेखि नै उक्त मञ्चमा रहेका एलेक्स शिवाकोटी आफ्नो नृत्य, छोटा नाटक र पीओभी (पोइन्ट अफ भ्यू) भिडियोहरूका लागि आफूलाई होच्याइएको बताउँछन् ।
“यो बन्दाबन्दीमा मैले टिकटकमा धेरै नकारात्मक टिप्पणीको अनुभव गरें, जसले कहिलेकाहीं त चलाउनै छोडिदिऊँ कि जस्तो पनि बनाउँछ”, शिवाकोटी भन्छन्, “तर दर्शकमाझ पुग्ने यो एकदम उपयुक्त माध्यम हो, पहिले म मानिसहरूसँग विरलै कुराकानी गर्थें तर टिकटकले परिवर्तन गरिदियो ।”
चिकित्सक भरत पोख्रेल भन्छन्, “सारमा भन्नुपर्दा यो सिक्ने मौका पनि भएको छ, मनोरञ्जनको माध्यम पनि भएको छ, महामारीको बेला उपयोगी सल्लाहका साथ देशका विभिन्न ठाउँका मानिसमा पुग्ने साधन पनि बनेको छ ।”