काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्नेबारे बुधबार मात्र निर्णय हुने
काठमाडौं उपत्यकाका तीन जिल्लामा ३ भदौदेखि जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनेबारे भोलि (बुधबार) मात्र निर्णय हुने भएको छ।
मंगलबार रातिसम्म बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको संयुक्त बैठकले यसबारे छलफल गरे पनि निर्णय भने गरेन।
तीन वटै जिल्लाका सीडीओहरुले ३ भदौ मध्यरातदेखि लागू हुनेगरी जारी गरेको निषेधाज्ञा आदेश बुधबार राति सकिँदैछ। संयुक्त बैठकमा यसबारे छलफल भए पनि कुनै निर्णय नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। "आज छलफल मात्र भयो", दाहालले भने, "हामी भोलि फेरि बसेर आवश्यक निर्णय लिन्छौं।"
बुधबार उपत्यकाका तीन जिल्लाकै सीडीओहरुको संयुक्त बैठक बस्ने तय भएको छ। यसअघि आज दिउँसो तीनजना प्रजिअसहित बसेको काठमाडौं, ललितपुर र भक्तपुरका कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने सिफारिस गरेको थियो।
सो बैठकमा उपत्यकाभित्रका नगरपालिका प्रमुखहरुको समेत उपस्थिति थियो। उपत्यकाभित्रका नगरपालिकाका मेयरहरुको मञ्चको सोमबार र मंगलबारको बैठकले पनि निषेधाज्ञा लम्ब्याउन आग्रह गरिसकेको छ।