पुस्तकालयविहीन सामुदायिक विद्यालय
पुस्तकालय नै नभएका वा भए पनि उपयोगहीन रहेका सामुदायिक विद्यालयका बालबालिकाका लागि ज्ञान लिने उपाय शिक्षकको व्याख्यान मात्रै भएको छ।
७ कक्षाका विद्यार्थीलाई श्वासप्रश्वास र पाचन प्रणालीबारे बुझाउन प्रयास गरिरहेकी छन्, शिक्षक बसुन्धरा रेग्मी ।
अलमलमा परेजस्ता देखिने बालबालिकालाई पाठ राम्रोसँग बुझउन स–चित्र थप सामग्री र प्रयोगात्मक विधिको खाँचो छ । तर, विद्यालयमा त्यस्ता सामग्री त के पुस्तकालय नै छैन ।
काठमाडौं महानगरपालिका–१० मा रहेको बुद्धनगर आधारभूत विद्यालयकी स्वयंसेवी शिक्षक रेग्मी भन्छिन्, “खासमा यो विद्यालय नाम मात्रको छ ।” एउटा पनि पत्रपत्रिका नल्याइने, खेलमैदान, सभाकक्ष र कम्प्युटर नभएको विद्यालयसँग पुस्तकालय बनाउने योजना पनि छैन ।
२०५१ सालमा स्थापित विद्यालयमा २४ वर्षदेखि पढाइरहेका प्रधानाध्यापक पुरुषोत्तम नेपाल पाठ्यपुस्तकका कुरा सहायक सामग्रीको मद्दतले प्रयोगात्मक विधिबाट बुझउँदा सजिलो हुने बताउँछन् । “तर, यत्तिकै चलिरहेको छ”, उनी भन्छन् ।
शिक्षा नियमावली २०७४ को अनुसूची २ अनुसार विद्यालयमा प्रत्येक विद्यार्थी बराबर दुई पुस्तक भएको पुस्तकालय हुनुपर्छ । त्यस अनुसार ८४ विद्यार्थी भएको यो विद्यालयमा कम्तीमा १६८ थान पुस्तक सहितको पुस्तकालय हुनुपर्थ्याे ।
काठमाडौंको टेकूस्थित महेन्द्र सरस्वती आधारभूत विद्यालयमा पनि पुस्तकालय छैन । दाता र अभिभावकहरूबाट प्राप्त करीब २०० थान पुस्तक प्रधानाध्यापकको कक्षमा लथालिङ्ग छन् । विद्यालय व्यवस्थापन समितिको बैठक समेत हुने यो कक्षमा विद्यार्थी आउँदैनन् । २२४ विद्यार्थी अध्ययनरत उक्त विद्यालयलाई गत वर्ष महानगरपालिकाले दिएको रु.२६ हजारले कति र कस्ता पुस्तक खरीद गरियो, रेकर्ड समेत छैन ।
राजधानी उपत्यकाका कतिपय सामुदायिक विद्यालयहरू पुस्तकालयविहीन छन् भने भएकामा पनि उचित व्यवस्थापनको अभावमा पुस्तकको सदुपयोग हुनसकेको छैन । देशकै पुरानोमध्येको भानु मावि (तत्कालीन दरबार हाईस्कूल) स्थापना भएको १६५ वर्ष पुगिसकेको छ ।
१२ वैशाख २०७२ को भूकम्पका कारण विद्यालय भवन भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पस हाताभित्र बनेको अस्थायी भवनमा सरेको यो विद्यालयका पुस्तक र दस्तावेजहरू बोरामा कोचेर थुपारिएको छ । सय वर्षभन्दा बढी पुराना सामग्री र देशको शैक्षिक इतिहास केलाउन काम लाग्ने पुस्तक, पाठ्यसामग्रीहरू जोखिमपूर्ण अवस्थामा छन् । पुस्तकहरूको रेकर्ड छैन, कम्प्युटरहरूमा बाक्लो धूलो जमेको छ । पढ्ने ठाउँ त छँदै छैन ।
दरबार हाईस्कूल परिसरमै स्थापित संस्कृत माविले २९ असार २०७५ मा १४०औं वार्षिकोत्सव मनाइसकेको छ । भानु माविसँगै वाल्मीकि क्याम्पस हातामा सरेको यो विद्यालयमा संस्कृत र नेपाली भाषाका समेत गरी तीन हजार जति पुस्तक रहेको प्रधानाध्यापक बद्रीप्रसाद दाहाल बताउँछन् ।
तर, ती सबै पुस्तक बोरामा बन्द छन् । आफ्नो भवन नै नभएको विद्यालयमा पुस्तकालय बनाउने तत्काल कुनै योजना नरहेको प्रधानाध्यापक दाहालको भनाइ छ । उनी भन्छन्, “विद्यालयले मात्र पुस्तकालय सुधार्न सक्ने अवस्था छैन ।”
नाम मात्र पुस्तकालय
काठमाडौंको बागबजारस्थित शहीद शुक्र माविको तेस्रो तलाको एउटा कोठामा केही सय थान पुस्तक भण्डारण गरिएको छ । दाताहरूबाट प्राप्त ६ थान बिग्रिएका कम्प्युटर पनि यही कोठामा थन्क्याइएको छ । विद्यार्थी र शिक्षक आक्कलझुक्कल पुग्ने यो कोठामा बसेर पढ्न जम्मा चार वटा स्टुल छन् । पढ्ने ठाउँको अभावका कारण प्रायः बन्द राख्ने यही कोठालाई विद्यालयले पुस्तकालय भनेको छ ।
उता विद्यालय भवनको भुइँतलाका २२ वटा कोठा भने पसललाई भाडामा दिइएको छ । प्रधानाध्यापक मञ्जु तुलाधर निर्माणाधीन भवनतिर देखाउँदै भन्छिन्, “नयाँ भवन बनेपछि पुस्तकालय पनि उतै सर्छ ।”
काठमाडौंको कोटेश्वरस्थित सरस्वती मावि राजधानीमा धेरै विद्यार्थी भएका सामुदायिक विद्यालयमध्येमा पर्छ । एक हजार ७१ विद्यार्थी रहेको विद्यालयको पुस्तकालय चार वटा र्याकमा अटाएको छ । त्यही पुस्तकालय पुग्न पनि अप्ठ्यारो सिंढी चढेर तेस्रो तलामा पुग्नुपर्ने हुँदा यो साना नानीहरूको पहुँचमा छैन ।
पुस्तकालय भन्दा बिजोग अवस्थामा छ विज्ञान प्रयोगशाला । दाताहरूबाट संकलित १७ वटा कम्प्युटर, विज्ञानका चार्ट, काँचका उपकरण र विद्यार्थीले पहिले बनाएका प्रयोगात्मक सामग्री एकै ठाउँमा थुप्रो लागेको छ । प्रधानाध्यापक पुष्प कुँवर चार वर्षदेखि पुस्तकालय र प्रयोगशाला उपयोगविहीन भएको स्वीकार्छन् । दाता वा सरकारबाट सहयोग नजुटे पुस्तकालय र प्रयोगशाला सञ्चालन गर्न नसकिने निधोमा पुगेका उनी भन्छन्, “आन्तरिक स्रोत नभएकोले विद्यालयसँग अरू उपाय छैन ।”
काठमाडौं बूढानीलकण्ठ नगरपालिकास्थित महाँकाल जनजागृत माविमा पनि पुस्तकालयको हालत उस्तै छ । रुम टु रिड ले २०६८ सालमा दिएका पुस्तकको समेत रेकर्ड छैन यहाँ । साँघुरो कोठामा राम्रोसँग बसेर पढ्न मिल्ने ठाउँ छैन ।
यसै पनि पठन संस्कृति कम हुँदै गएका बेला विद्यार्थी र शिक्षकलाई समेत आकर्षित गर्न सक्ने राम्रो पुस्तकालयको आवश्यकता महसूस भए पनि स्रोतको अभावमा बनाउन नसकिएको प्रधानाध्यापक पदमबहादुर थापामगर बताउँछन् ।
विद्यालयमा पुस्तकालय बनाउने मात्रै होइन त्यस्ता पुस्तकालयमा विद्यार्थीको आवश्यकता र रुचि अनुसारका पुस्तक राख्नु पनि जरूरी रहेको बताउँछन्, मदन पुरस्कार पुस्तकालयका अध्येता दीपक अर्याल । उनी भन्छन्, “आवश्यकता र रुचि अनुसारका पुस्तक नभए पठन संस्कृतिको विकास हुनै सक्दैन ।”
नीति छ, नियमन छैन
२०७२ सालमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रत्येक विद्यालयमा पुस्तकालय स्थापना गर्ने उल्लेख थियो । त्यसयता वार्षिक एक हजार विद्यालयमा पुस्तकालय वा सूचना र सञ्चारप्रविधि शीर्षकमा प्रति विद्यालय रु.६ लाख ५० हजारका दरले शिक्षा विभाग मार्फत पठाउन थालिएको छ ।
चालु आर्थिक वर्षमा मात्र देशभरका ७५३ स्थानीय तह मार्फत एक हजार विद्यालयहरूमा कुल ६५ करोड रुपैयाँ पठाइएको शिक्षा विभागको योजना तथा अनुगमन शाखाका प्रमुख घनश्याम अर्याल बताउँछन् । त्यही रकममध्येबाट काठमाडौं महानगरपालिकामा पनि साउन २०७५ मा रु.१९ लाख ५० हजार रकम आयो । तीन वटा विद्यालयमा पुस्तकालय व्यवस्थापन गर्नका लागि आएको उक्त रकम महानगरपालिकाले विद्यालय छनोट नगर्दा अहिलेसम्म पनि निकासा हुनसकेको छैन ।
महानगरपालिकाको शिक्षा विभागका अधिकृत बुद्धि भट्ट अनुमान गर्छन्, “जेठसम्ममा विद्यालय छनोट गरी रकम निकासा होला ।” काठमाडौं महानगरपालिकामा हाल ३१ आधारभूत र ६०माध्यमिक समेत गरी ९१ वटा सामुदायिक विद्यालय छन् भने संस्थागत विद्यालयको संख्या ६४५ छ । ती विद्यालय अनुगमनको काम पनि महानगरपालिकाको शिक्षा विभागकै हो ।
तर, अधिकृत भट्ट भन्छन्, “जम्मा तीन कर्मचारी भएको अनुगमन इकाइले महानगरभित्रका सबै विद्यालय अनुगमन गर्न भ्याउँदैन, अहिलेसम्म एउटामा पनि पुग्न सकिएको छैन ।”
शिक्षा विभागको योजना तथा अनुगमन शाखालाई समेत देशका विद्यालयहरूमा पुस्तकालयको अवस्थाबारे थाहा छैन । शाखा प्रमुख अर्याल पाँच जना कर्मचारीले देशभरका विद्यालयको अनुगमन गर्न सम्भव नरहेको बताउँछन् ।