कोरोना अपडेट: एक हप्तामा मृत्यु भएका ४९ जना संक्रमितमध्ये २७ जना श्वासप्रश्वासका बिरामी
नेपालमा कोरोनाका कारण पछिल्लो एक हप्तामा मात्रै ४९ जनाको मृत्यु भएको छ भने त्यसमध्ये २७ जनामा श्वासप्रश्वासको समस्या देखिएको छ।
स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १६४ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ७ जनाको मृत्यु भएको छ।
मुलुकमा कोरोनाका संक्रमितको कुल संख्या ३३५३३ पुगेको छ भने संक्रमितमध्ये १६४ जना अर्थात ०.५ प्रतिशतको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयबाट प्राप्त १ देखि ७ भदौसम्मको तथ्यांक हेर्दा पछिल्लो एक हप्तामा कोरोना कारण ४९ जनाले ज्यान गुमाएका छन्। १ भदौमा मात्र कोरोनाका कारण सात जनाले ज्यान गुमाएका थिए। त्यसपछि २ भदौमा कोरोना कारण एकै दिन सबैभन्दा बढी नौ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
यो एक हप्ताको तथ्यांक अनुसार मृत्यु भएका ४९ जना कोरोना संक्रमितमध्ये अधिकांस श्वासप्रश्वासका बिरामी भएको देखिएको छ। मृत्यु भएका ४९ जनामध्ये २७ जना दम, निमोनिया, खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी बिरामी थिए। यो एक हप्तामा भएका कुल मृतकको ५५.१० प्रतिशत हो।
श्वासप्रश्वासका २७ जनामध्ये १२ जना संक्रमित कडा र सामान्य खालका निमोनियाका बिरामी थिए। कोरोनाका कारण पछिल्लो एक हप्तामा ज्यान गुमाएका ४९ जनामध्ये बाँकी २२ जना उच्च रक्तचाप, मधुमेह, मिगौला जस्ता दीर्घ रोगका बिरामी थिए।
छाती रोग विशेषज्ञ चिकित्सकहरूले पछिल्ला दिनहरूमा श्वासप्रश्वासको समस्या भएका अधिकांश बिरामीको कोरोना संक्रमणपछि मृत्यु भएको भन्दै उनीहरूका लागि विशेष हेरचाह र अक्सिजनसहितको स्वास्थ्य उपचारको व्यवस्था मिलाइनुपर्ने बताउँदै आइरहेका छन्।