मुगु सदरमुकाममा भोलिदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी
मुगु सदरमुकामस्थित जिल्ला स्वास्थ्य सेवा कार्यालयका एक कर्मचारीमा सोमबार कोरोना संक्रमण देखिएपछि छायाँनाथ नगर क्षेत्रमा बुधबारबाट एक हप्ताका लागि निषेधाज्ञा लागू हुने भएको छ।
कोरोना संक्रमण समुदाय स्तरसम्म पुगे नपुगेको बारे पत्ता लगाउनुपर्ने भएकाले छायाँनाथ रारा नगर क्षेत्र बुधबारबाट पुर्ण रुपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले आदेश जारी गरेका छन्।
मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितीको बैठकले बुधबारबाट जिल्ला सदरमुकाम गमगढी बजारमा सरकारले खुल्ला गर्नु भनेका आपतकालिन सेवा दिने व्यवसाय, संस्था तथा कार्यालय बाहेक सबै कारोवार ७ दिन सम्मका लागी पूर्ण रुपमा बन्द गर्ने निणय गरेको छ।
स्वास्थ्य सेवा कार्यालयमै कारोना संक्रमित देखिएकाले ७ दिनपछि त्यहाँ कार्यरत सबै चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूको स्वाब संकलन गरी परीक्षण गर्न जुम्ला पठाउने निर्णय पनि बैठकले गरेको छ।
यो समयमा छायाँनाथ रारा नगरपालिकाले सदरमुकाम गमगढी बजार क्षेत्रका प्रत्येक घरधुरीका कम्तिमा एक जनाको आरडीटी परीक्षण गर्ने, नगरक्षेत्रसंगमा प्रवेश गर्ने बुलबुले, रारा, आँसिधारा र लुम्स नाकाहरूमा अन्तर पालिका तथा अन्तर जिल्लाबाट आवतजावतमा रोक लगाउने, एक वडाबाट अर्को वडामा तथा एक घरबाट अर्को घरमा जान रोक लगाउने, नगरपालिका र जिल्ला स्वास्थ्य सेवा कार्यालयले पीसीआर किट खरिद गर्ने, परिक्षणको दायरा बढाउने जस्ता निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौला बताए।
मुगु जिल्लासंग सीमाना जोडिएका र मुगुको कारोवार हुने मुख्य शहरहरूमा कोरोना संक्रमितको संख्या बढिरहेकाले अन्तर जिल्ला सिमानाहरूबाट मुगु प्रवेशमा कडाई र रारा विमानस्थलमा सुर्खेत नेपालगंजबाट हुने उडानसमेत बन्द गर्ने बारेमा छलफल भएको थियो।