काठमाडौं उपत्यकामा १७ भदौसम्म निषेधाज्ञा लगाउन सिफारिस
काठमाडौं उपत्यकाका तीन जिल्लामा थप एक साता निषेधाज्ञा लगाउन तीन वटै जिल्लाका कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सिफारिस गरेका छन्।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु र उपत्यकाका नगरपालिकाका प्रमुखहरुसमेत सहभागी तीन जिल्लाका केन्द्रको संयुक्त बैठकले १७ भदौ मध्यरातसम्म निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको हो।
उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च बनेपछि तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले ३ भदौदेखि जारी गरेको निषेधाज्ञा आदेश १० भदौ मध्यरातमा सकिँदैछ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न अहिले तीन वटै जिल्लाका सीडीओहरुको संयुक्त बैठक बसिरहेको छ। बैठक जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी छ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले एक साता निषेधाज्ञा थप गर्ने सिफारिस आए पनि निर्णय नभइसकेको र सीडीओहरुको बैठक जारी रहेको बताए।
सोमबार र मंगलबार बसेको काठमाडौं उपत्यकाका मेयरहरुको मञ्चको बैठकले पनि एक साता निषेधाज्ञा थप गर्न सुझाव दिएको थियो।