विपन्न दलित विद्यार्थीलाई डाक्टर पढाउँदैछ मुगुको छायाँनाथ रारा नगरपालिका
अच्युतराज भण्डारी, मुगु
मुगुको छायाँनाथ रारा नगरपालिकाले अति विपन्न दलित विद्यार्थीलाई डाक्टर पढाउँदै आएको छ।नगरपालिकाले वडा नम्बर ५ का देवीकृष्ण विकलाई शतप्रतिशत खर्च व्यहोरेर बाङ्लादेशमा ब्याचलर इन डेन्टल साइन्स (बीडीएस) पढाइरहेको छ। विक बीडीएस तेस्रो वर्षमा अध्ययनरत छन्।
यस्तै, डाक्टर पढिरहेका अन्य दुई जनालाई पनि नगरपालिकाले केही रकम छात्रवृत्ति सहयोग गरिरहेको छ। बाङ्लादेशमै एमबीबीएस पाँचौं वर्षमा अध्ययनरत छायाँनाथ रारा नगरपालिका–१ की कामना मल्ल र भारतमा एमबीबीएस पढ्ने वडा नम्बर १ की समीक्षा मल्ललाई छात्रवृत्ति दिइरहेको नगरपालिकाले जनाएको छ।
यस्तै, अति विपन्न र दलित समुदायका जेहेन्दार अन्य ११ जनालाई देशभित्रै इञ्जिनियरिङ लगायतका विषय पढ्न नगरपालिकाले वार्षिक रूपमा छात्रवृत्ति दिंदै आएको छ।
नगरपालिकाका अनुसार, छात्रवृत्तिका लागि आर्थिक वर्ष २०७४/७५ मा रु. ८ लाख, २०७५/७६ मा रु. १० लाख र गत आवमा २०७६/७७ मा रु.९ लाख विनियोजन गरिएको थियो।
गत आर्थिक वर्षमा विनियोजित रकममध्ये बीडीएस अध्ययनरत विकलाई रु. ३ लाख, एमबीबीएस अध्ययनरत कामनालाई १ लाख ५० हजार र भारतमा एमबीबीएस पढ्दै आएकी समीक्षा मल्ललाई १ लाख दिइएको छ। यस्तै, सुर्खेत मध्यपश्चिम विश्वविद्यालयमा सिभिल इञ्जिनियर चौथो वर्ष अध्ययनरत मनोजकुमार नेपालीलाई ३० हजार र बूढानीलकण्ठ प्राविधिक विद्यालय काठमाडौंमा पढ्ने रामकृष्ण कामीलाई ३० हजार उपलब्ध गराइएको छ।
नगरपालिकाका मेयर हरिजंग शाहीले विकट हिमाली जिल्ला मुगुमा शिक्षा र स्वास्थ्यको क्षेत्र नाजुक अवस्थामा रहेकाले त्यस्तो अवस्थाबाट माथि उठाउन छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइरहेको बताए।
उनले भने, “नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ बाट छात्रवृत्ति कार्यक्रमको थालनी गरेको थियो। आर्थिक समस्याले उच्च शिक्षा पढ्न नसक्ने नगरपालिकाभित्रका विपन्न, दलित र पिछडिएका समुदायका विद्यार्थी छनोट गरी छात्रवृत्ति सहयोग गर्दै आएका छौं।”
नगरपालिकाभित्र रहेका विपन्न र पिछडिएका परिवारका विद्यार्थीले उच्च प्राविधिक शिक्षा पढ्न चाहेमा नगरपालिकाले छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने मेयर शाहीले बताए।
विकले असम्भव जस्तै बनेको सपना नगरपालिकाको सहयोगले पूरा हुन लागेको बताए। “खान लाउन नपुग्ने र ज्याला मजदूरी गर्दै आएको गरीब दलितको छोराले डाक्टर पढ्ने कल्पना समेत थिएन, तर नगरपालिकाको छात्रवृत्तिमा पढ्न पाउँदा खुशी लागेको छ”, उनले भने।
अध्ययन पूरा गरेर आफ्नै ठाउँमा सेवा गर्ने उनले बताए।