कोरोना संक्रमित भएर पनि रेडियो चलाइरहेछन् वीरगञ्जका यी सञ्चारकर्मी
पर्साको वीरगंजस्थित सामुदायिक रेडियो नारायणी एफएमका ५ जना रेडियोकर्मी एकैपटक संक्रमित भए। उनीहरू भन्दा अगाडि पनि दुईजना संक्रमित भएपछि रेडियो नै बन्द गर्नुपर्ने अवस्था आयो।
७ भदौमा उनीहरूको कोरोना परीक्षणको रिपोर्ट आएपछि अध्यक्ष गोविन्द देवकोटाले रेडियो बन्द गर्न भने। तर पत्रकार शिवनाथ यादवले आफूले समाचार र कार्यक्रम गर्ने भन्दै प्राविधिक साथीहरूलाई समेत अनुरोध गरेर रेडियोमै आइसोलेसनमा बसेर काम गर्ने निर्णय सुनाए।
अध्यक्ष देवकोटालाई पनि उनको निर्णय ठीक लाग्यो, उनले ५ जनाका लागि बसोबास र खानपानको व्यवस्थापन गरिदिए।
१८ साउनमा स्टेशन प्रमुखलाई कोरोना संक्रमण पुष्टि भयो (हाल उनी निको भएर अस्पतालबाट घर फर्किसकेका छन्)। त्यसपछि २८ साउनमा ५ जनाले पीसीआर परीक्षण गर्दा एक जना प्राविधिकलाई देखियो। प्राविधिकलाई समेत देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा ४ भदौमा परीक्षण गर्दा एकैपटक ५ जनालाई संक्रमण भएको पुुष्टि भएको थियो।
आइसोलेसनमा बस्नुभन्दा यहीँ सुरक्षित पनि छ। सुत्ने कोठा फरकफरक छ। चामल, खाजाका लागि तथा हरियो सागसब्जी, मासु तथा आवश्यक खाने कुराको व्यवस्थापन भइरहेको छ, अन्यत्र दिमागमा अनेकथरी कुरा सोचेर बस्नुभन्दा यहाँ काममा व्यस्त छौं। मुख्य कुरा रेडियो बन्द गर्नुपरेन।
- रेडियोकर्मी, शिवनाथ यादव
एकै पटक पाँच जनासहित रेडियोका ७ जनामा कोरोना संक्रमण भएपछि र अरू होम आइसोलेसनमा बसेका कारण रेडियो बन्द गर्ने निर्णय गरे पनि संक्रमित भएका पत्रकार शिवनाथ यादवले रेडियोकै कार्यालयमा आइसोलेसनमा बसेर रेडियो सन्चालन गर्ने भनेपछि अध्यक्ष देवकोटाले त्यसको व्यवस्थापन गरिदिएका थिए।
स्थानीय प्रशासनसँग समन्वय गरेर कार्यालयकै आइसोलेसनमा बस्ने जानकारी गराएर रेडियोमै उनीहरूको बसोबास र खानपानको व्यवस्थापन गरिदिएको देवकोटा बताउँछन्।
पत्रकार यादव भन्छन्, “मैले बिहानदेखि बेलुकाको विभिन्न समयको समाचार वाचन गर्ने र टक सो कार्यक्रम गर्न सक्छु। रेडियो बन्द नगरौं भनेर प्राविधिक साथीहरूलाई भनेपछि अध्यक्षलाई जानकारी गराएँ। उहाँले अन्य व्यवस्थापन गर्दिनुभयो।”
पाँचै जनामा कुनै पनि लक्षण देखिएको छैन। यादवले भने, “रिपोर्ट पोजिटिभ भए पनि केही स्वास्थ्य समस्या छैन भने आइसोलेसनमा बसेर रेडियो चाहिँ बन्द गर्नु ठीक लागेन। यस्तोबेला समुदायलाई झन् बढी सूचना दिनुपर्ने भएकाले यो निर्णय मैले नै गरेको हुँ। सहयोग सबैको पाएँ, खुशी छु।”
१८ घण्टा प्रसारण हुँदै आएको रेडियोमा आफ्नै र राष्टिय समाचार समेत जोडेर लगभग घण्टै पिच्छे समाचार बुलेटिन बज्छ। यादवले बिहान साढे ५ बजे नेपाली तथा अन्य भोजपुरी भाषाको समाचार तथा टक सो कार्यक्रम पनि गर्ने गरेका छन्।
"यसअघि नेपाली समाचार पढेको थिइँन," यादवले भने, “घरमा बस्नुभएका साथीहरूले बनाएर पठाइ दिनुहुन्छ। मैले नेपाली पनि पढ्छु, भोजपुरीलाई पनि निरन्तरता दिइरहेकै छु। बिहान बेलुका राष्ट्रिय नेटवर्कका समाचार प्राविधिक साथीहरूले जोड्नुहुन्छ।”
"आइसोलेसनमा बस्नुभन्दा यहीँ सुरक्षित पनि छ। सुत्ने कोठा फरकफरक छ। चामल, खाजाका लागि तथा हरियो सागसब्जी, मासु तथा आवश्यक खाने कुराको व्यवस्थापन भइरहेको छ, अन्यत्र दिमागमा अनेकथरी कुरा सोचेर बस्नुभन्दा यहाँ काममा व्यस्त छौं। मुख्य कुरा रेडियो बन्द गर्नुपरेन," यादव भन्छन्।
रेडियोका अध्यक्ष गोविन्द देवकोटाले शिवनाथले समाचार पढ्छु भनेपछि बुलेटिनको संख्या घटाउन भनेर नभनेका होइनन्। "उहाँले नै समाचार र टक सो कार्यक्रम गरिरहनु भएको छ। नियमित समाचार बुलेटिन प्रसारण भइरहेकै छ, गाह्रो भयो भने समाचार बुलेटिन घटाउन पनि भनेको थिएँ, उहाँले मान्नु भएन," उनले भने।
यस्तो बेलामा काम गर्नुस् भन्ने अवस्था हुँदैन। मैले त तत्कालका लागि रेडियो बन्द भएको भन्दिनुस् भनेको थिएँ। तर यहीँ बसेर काम गर्छौं भनेपछि उहाँहरुको उत्साहमा मैले हौसला थपिदिएको छु।
- रेडियोका अध्यक्ष, गोविन्द देवकोटा
“यस्तो बेलामा काम गर्नुस् भन्ने अवस्था हुँदैन। मैले त तत्कालका लागि रेडियो बन्द भएको भन्दिनुस् भनेको थिएँ। तर यहीँ बसेर काम गर्छौं भनेपछि उहाँहरुको उत्साहमा मैले हौसला थपिदिएको छु,” उनले भने।
विभिन्न ठाउँका संवाददाता र रेडियोमा नियमित काम गर्ने रेडियोकर्मीहरूले फेसबुक ग्रुपमा समाचार पठाइदिएर र स्टेशन म्यानेजर शाहले सबैसँग समन्वय र समाचारहरू सम्पादन गरिदिएर रेडियोमा काम भइरहेको छ।
रेडियोमा अहिले समसामयिक विषयका ‘टक सो’ कार्यक्रम, नेपाली र भोजपुरी भाषाका समाचार तथा राष्ट्रिय नेटवर्कबाट समाचार जोड्ने बाहेक अन्य कार्यक्रमहरू केही महीनाअघिदेखि नै बन्द गरिएको छ।
रेडियोले रेडियोकर्मी तथा कर्मचारीहरूको यसअघि नै रु.एक लाखको कोरोना बीमा गरिदिएको छ। सामुदायिक रेडियोहरूको छाता संगठन अकोराबका महासचिव समेत रहेका अध्यक्ष देवकोटाले संक्रमित हुँदा पनि काम गर्ने तथा जोखिमपूर्ण काम गर्ने कर्मचारीलाई नियमित तलब बाहेक प्रोत्साहन भत्ता दिने बताए।
कोरोनाले बढी प्रभावित मध्येमा पर्ने पर्सा जिल्लामा आजसम्म १९७८ जनामा संक्रमण पुष्टि भइसकेको छ। पत्रकारहरूमा पनि पत्रकार महासंघका अध्यक्षसहित यो एउटै रेडियोको ७ तथा अन्य विभिन्न मिडियामा काम गर्नेहरू संक्रमित भइसकेका छन्।