अघिल्लो आर्थिक वर्षमा ६० प्रतिशत प्रगति भएको पर्यटन मन्त्रालयको दाबी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महामारीका बीच पनि अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ६० प्रतिशत प्रगति भएको जनाएको छ। मन्त्रालयले ९ भदौ मंगलबार सार्वजनिक गरेको वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै उक्त प्रगति हासिल गरेको तथ्यांक सार्वजनिक गरेको हो।
मन्त्रालयले गरेको एक भर्चुअल बैठकमार्फत वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले सबैभन्दा बढी पुंजीगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकुल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको बताए।
कोभिड–१९ महामारीका कारण पुस/माघ महीनादेखि असार/साउन महीनासम्म धेरै काम हुन पाएन। त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरण यो वर्ष मन्त्रालयको पुंजीगत खर्च ६४ पैतिशत र वित्तिय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ। चालु खर्चमा भने ८० प्रतिशत प्रगति भएको उल्लेख छ।
मन्त्रालयको आब २०७५/७६ मा कूल बजेट रु.३३ अर्ब १३ करोडा ३७ लाख रहेको थियो। आब २०७६/०७७ मा रु.२१ अर्ब २१ करोड ६९ लाख कूल बजेट रहेको छ। आब २०७५/०७६ मा ८१ प्रतिशत रहेको औषत खर्च २०७६/०७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
वित्तिय व्यवस्थापनतर्फ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो रकम विनियोजन भइ खर्च हुन नसक्नु तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुत्तानी हुन नसक्नुले वित्तिय व्यवस्थातर्फ कम खर्च हुन गइ समग्र बजेट खर्च घटेको र कोभिढ–१९ महामारीका कारण खर्च प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालय र मातहत निकायको मुख्य काम र खर्च हुने समयमा कोरोनाको प्रभावले नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पार्यो। त्यसको प्रत्यक्ष असर मन्त्रालयको वार्षिक योजना कार्यक्रम कार्यान्वयनमा देखियो। परिणामस्वरुप मन्त्रालयले अपेक्षित नतिजा हासिल गर्न सकेन।
तथापि, महामारीकै बीच पनि मन्त्रालयले कतिपय परियोजनामा उल्लेखनीय सफलता हात पारेको छ। मन्त्रालय मातहतका राष्ट्रिय गौरबको आयोजनाको उल्लेख्य प्रगति देखिएको छ। पशुपति क्षेत्र विकास कोषको ७० प्रतिशत, लुम्बिनी विकास कोषको ९५ प्रतिशत, भैरहवामा निर्माणाधिन गौतमबुद्ध विमानस्थलको ८५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६१ प्रतिशत प्रगती भएको छ।
पोखरा र गौतमबुद्ध विमानस्थल आयोजनाको काम महामारीबीच पनि निरन्तर भइरहेको छ। भैरहावा विमानस्थल सञ्चालनको तयारीमा छ।
पर्यटनमन्त्री भट्टराईका अनुसार बत्ती जडान तथा केही उपकरण जडानको काम मात्रै बाँकी छ। अबको तीनदेखि ६ महीनाभित्र विमानस्थल व्यवसायिक सञ्चालनमा आउनेछ। विदेशी प्राविधिक चाहिने भएकाले केही महिना काममा बिलम्व भएको जनाइएको छ।