उपकरण छ तर अस्पतालको ढोकाबाटै फर्कन्छन बिरामी
पेटमा समस्या आएपछि बारेकोट गाउँपालिका मुलसामकी जयकुमारी शाही दिनभर हिँडेर लिम्सा प्राथमिक स्वास्थ्य केन्द्रमा पुगिन् । तर त्यहाँ पुग्दा चिकित्सक थिएनन् । उपचार नभएपछि उनी निराश भएर फर्किन् ।
स्वास्थ्य केन्द्रमा एकजना एमबिबीएस चिकित्सकको दरबन्दी छ । तर त्यहाँ कार्यरत मेडिकल अधिकृत डा. सन्दीपकिरण प्रधान एमडी अध्ययनका लागि बिदामा छन् ।
चिकित्सक मात्र होइन, नौ स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त स्वास्थ्य संस्थामा स्टाफ नर्स, अनमी र ल्याव असिस्टेन्ट पद पनि लामो समयदेखि खाली छ ।
औषधि र उपकरण भएपनि छ महीनादेखि उपचार गर्ने चिकित्सक र उपकरण प्रयोग गर्ने स्वस्थ्यकर्मी नहुँदा दिनहुँ उपचाका लागि पुगेका दर्जनौँ बिरामी अस्पतालको ढोकाबाटै फर्कने गर्दछन् । त्यहाँ उपकरण भएर पनि जनशक्ति नहुँद ल्याव सेवा सञ्चालनमा नआएको वर्षौं भइसक्यो ।
जुम्ला र डोल्पाको सिमाना रहेको बारेकोट गाउँपालिका जिल्लाको अन्य स्थानीय तहमध्ये बढी दुर्गम मानिन्छ ।
गाउँपालिकाबाट जिल्ला सदरमुकाम पुग्न तीन दिन लाग्ने भएकोले उपचारका लागि लिम्सा प्राथमिक स्वास्थ्यकेन्द्रमा बिरामीको चाप हुने गर्छ । तर चिकित्सक नहुँदा नीजि औषधि पसलमा उपचार गराएर महंगो शुल्क तिर्न बाध्य भएको बारेकोटवासीको गुनासो छ ।
स्वास्थ्य तथा सरसफाइ बारेकोट शाखाका संयोजक वीरराज सिंहले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक अध्ययन बिदामा बसेपछि उपचार सेवा दिन समस्या भएको बताए ।
अध्ययन बिदामा बसेका चिकित्सकको ठाउँमा स्वास्थ्य सेवा विभागले वैकल्पिक व्यवस्था नगर्दा दुर्गमका बासिन्दा उपचार सेवाबाट वञ्चित हुनुपरेको हो ।
बारेकोटवासी अहिले पनि एक्सरे, ल्याव सेवा लिनका लागि नलगाड नगरपालिकाको दल्ली र जाजरकोट सदरमुकामस्थित जिल्ला अस्पताल र नेपालगञ्ज जाने गर्दछन् ।
गाउँपालिकाभित्र भरपर्दो सेवा नपाउँदा त्यहाँका दर्जनौंँ जनता अकालमै ज्यान गुमाउन बाध्य भएको वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए ।
एक त गरीबी र अशिक्षा त्यसमाथि पहुँचमा स्वास्थ्य संस्था नहुँदा त्यहाँका जनताले बिरामी भए पनि उपचार नगरेर बस्ने गरेकाे उनले बताए ।
केही हप्ताअघि भएको स्वास्थ्य शिविरमा पाठेघरमा समस्या भएका दर्जनौँ बिरामी फेला परेका थिए ।