महामारीको मारमा चलचित्रकर्मी: सडकमा तरकारी बेच्दै द्वन्द्व निर्देशक
नेपाली चलचित्रमा सीमित महिला द्वन्द्व निर्देशकमध्येकी किरण दाहाल कोरोना संक्रमण महामारीले मनोरञ्जन गतिविधि ठप्प भएपछि तरकारी बेचेर गुजारा चलाइरहेकी छिन्।
कोरोनाभाइरस संक्रमण महामारी अघिको सामान्य अवस्थामा किरण दाहालको व्यस्तता थियो, रहरको क्षेत्र चलचित्रमा। उनी चलचित्रमा द्वन्द्व निर्देशनको काम गर्थिन्। कलाकारहरूलाई धक्का र मुक्काको कला सिकाउँथिन्।
तर, कोरोना रोकथामका लागि लगाइएको बन्दाबन्दीपछि उनको भूमिका फेरिएको छ। उनी सडक किनारमा तरकारी बेच्न थालेकी छिन्।
अहिलेको महामारीले अन्य क्षेत्र जस्तै चलचित्र उद्योग पनि ठप्प छ। छायांकन लगायतका सबै काम रोकिएका छन्। कामविहीन भएपछि चलचित्रकर्मीलाई जीविकोपार्जनमा समस्या भएको छ। यही समस्याले किरणले काठमाडौं अनामनगरको सडक किनारमा तरकारी बेच्न थालेकी हुन्।
उनी भन्छिन्, “दैनिकी चलाउन साह्रै गाह्रो भएपछि केही न केही त गर्नैपर्यो भनेर यो काम शुरु गरेकी हुँ।”
सर्लाहीको लालबन्दीदेखि काठमाडौं आएर उनले चलचित्र क्षेत्रमा संघर्ष गरिरहेकी छिन्। तर, संघर्ष चलिरहँदा कोरोनाको धक्काले धेरैलाई जस्तै उनको सपनालाई पनि चुनौती दिएको छ। तर, चलचित्र दुनियाँकी यी ‘फाइटर’ दुःखसामु गलेकी भने छैनन्।
“दुःखदेखि भाग्ने भए त म विदेश जान्थेँ वा अरु नै पेशामा हुन्थेँ। तर, बच्चा वेलादेखि नै चलचित्र क्षेत्रमा रुचि भएकाले जसरी पनि यही क्षेत्रमा टिक्ने हो”, उनी भन्छिन्, “अहिले केही समयको लागि वैकल्पिक पेशा हो, सामान्य अवस्था आएपछि रुचिको क्षेत्र फर्किनु त छँदैछ।”
उनी वीरेन्द्र हमालको चलचित्र ‘सारङ’ बाट द्वन्द्व निर्देशकको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। ‘लुट’, ‘पद्यिनी’, ‘छड्के’, ‘पुन्टे परेड’ लगायत चलचित्रमा सहायक द्वन्द्व निर्देशकको काम गरेकी उनले ‘कुइनेटो’, ‘अभियुक्त’, ‘तरङ्ग’ लगायत चलचित्रमा एकल रूपमा द्वन्द्व निर्देशन गरेकी छिन्। प्रदर्शनका लागि तयार भएर महामारी र बन्दाबन्दीकै कारण रोकिएको चलचित्र कुइनेटो अब अवस्था सहज भएपछि रिलिज हुने उनले बताइन्।
तरकारी बेच्न थालेपछि उनको संघर्षको कथा विभिन्न सञ्चारमाध्यममा आए। उनको व्यथा पढेपछि केहीले आर्थिक सहयोग पनि गरे। करीब रु. १० हजार जुट्यो। त्यसमा केही रकम थप गरेर साग, कागती, खुर्सानी बाहेकका सामान थपिन्।
बन्दाबन्दी खुलेपछि चहलपहल बढेर राम्रो बिक्री हुन थालेपछि केही रुपैयाँ बचत पनि हुन थालेको थियो। सात महीनादेखि कोठाभाडा नतिरेकी उनले अब कम्तीमा एक महीनाको भाडा तिर्ने सोच बनाएकी थिइन्। अब छिटै सामान्य अवस्था आउँछ भन्ने माहाेल बनिरहेको पनि थियो।
तर, कोरोना संक्रमितको संख्या एकाएक बढ्यो र काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भयो। उनको हिसाब फेरि खस्किन थालेको छ।
तरकारीमा दुई, चार रुपैयाँ फाइदा राखेर बेच्न खोज्दा पनि कपडामा झैं मोलमोलाइ गर्ने ग्राहकहरु आउँछन्। तरकारी आज नबिके भोलि–पर्सि बेच्नका लागि साँचेर राख्न नमिल्ने भएकाले कहिले साउँमै बेच्ने र कहिले दश–बीस रुपैयाँ घाटा पनि हुने गरेको उनी बताउँछिन्। घाटालाई परिपूर्ति गर्न आफ्नै पेटमा लात हान्छिन्, अर्थात् कहिलेकाहीं त खाजा पनि खाँदिनन्।
जिन्दगीको कुइनेटा
३ भदौ मध्यरातदेखि उपत्यकामा निषेधाज्ञा भएपछि केही दिन किरण कोठामै बसिन्। अनिश्चितता थपिंदै जाँदा फेरि गुजारामा संकट पर्ने महसूस गरिन्, र संक्रमणबाट जोगिने गरी सुरक्षित भएर निस्किने विचार गरिन्।
गत आइतबारदेखि उनले फेरि तरकारी बेच्न थालेकी छिन्। भन्छिन् “मेरो ग्राहकहरु भड्किन थालेका थिए, त्यही भएर सुरक्षित उपाय अपनाएर बिक्री गर्न थालेकी छु।”
‘केकोसिङ’ र ‘बोधेसिङ’ मा ब्ल्याक बेल्ट उनी ब्यूटिसियन पनि हुन्। बन्दाबन्दी हुनु अघि उनले घरघरमा गएर कपाल काट्ने, कपालमा रङ लगाउने लगायत सबै काम गर्थिन्। त्यसबाट उनले पकेट खर्च जुटाउँछिन्। “तर, बन्दाबन्दीले त्यो काम बन्द भएर छाक टार्नै समस्या भयो। त्यही कठिन समयले तरकारी बेच्ने व्यवसाय जन्माएको हो”, उनी भन्छिन्।
उनी राति दुई बजे नै उठेर मास्क र पन्जा लगाएर स्यानिटाइजर बोकेर तरकारी लिन तीनकुने र कोटेश्वर पुग्छिन्। तरकारी ल्याएर बिहान ६ बजेदेखि दुई घण्टा बिक्रीमा व्यस्त हुन्छिन्। रु. ४०० बाट तरकारी व्यवसाय शुरु गरेकी उनले अहिले दुई हजारदेखि २५ सयसम्मको ल्याउन थालेकी छिन्।
धेरैले उनलाई विदेश जान वा अरु नै पेशा अँगाल्न सुझाव दिन्छन्। तर, उनी कुनै पनि हालतमा चलचित्र क्षेत्र छोड्ने पक्षमा छैनन्। संघर्ष गरेपछि सफल हुने उनको आत्मविश्वास छ। उनी भन्छिन्, “को सफल व्यक्तिको संघर्षको कथा छैन र ? सफल हुन मिहिनेत मात्रै होइन, धैर्य पनि चाहिन्छ भन्ने मैले बुझेकी छु।”
परिस्थितिले निम्त्याएको वैकल्पिक पेशामा खुशी सुनिन्छिन्। परिस्थितिले जस्तो काम पनि गराउने र काम गरेर खानु ठूलो कुरा भएको उनको विचार छ। भन्छिन्, “काम गर्न लजायो भने सपना साकार हुन त के बाँच्न नै कठिन हुन्छ।”