नेवानिको ऋण ४५ अर्ब नाघ्यो, कोरोनाका कारण गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न गर्न ढिलाई
नेपाल वायुसेवा निगम (नेवानि)को ऋण रु.४५ अर्ब नाघेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले निगमको पहिलोपटक सम्पती र दायित्वको मूल्यांकन (डीडीए) गराएको निगमको वास्तविक आर्थिक अवस्था पत्ता लगाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार पर्यटन मन्त्रालयको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने क्रममा यसको प्रतिवदेन आइसकेकोले अब वायुेवा निगमको कुल सम्पती रु.५४ अर्ब १७ करोड पुगेको जानकारी दिए।
डीडीएबाट निगमको कुल ऋण रु.४५ अर्ब ९४ करोड पुगेको छ। निगमको ऋणलाई घटाए बाँकी रहेको जम्मा सम्पती भने रु.८ अर्ब ३३ करोड मात्रै रहेको उल्लेख गरिएको छ। निगमले हाल उडानमा प्रयोग गरिरहरहेको एयर वसका ४ वटा जहाज उडान नगर्ने निर्णय गरेको चिनियाँ जहाज किन्दा लिएको ऋण सबैभन्दा धेरै छ।
निगमले २ वटा वाइडबडी किन्दा रु. २४ अर्ब, २ वटा न्यारोबडी किन्दा रु.१० अर्ब गरी अन्तर्राष्ट्रिय उडानका जहाज किन्न लिएको ऋण मात्रै रु.३४ अर्ब छ। ४ वटा चिनियाँ जहाज किन्दा र अन्य थपिएर हाल निगमको ऋण रु.४५ अर्ब नाघेको हो।
कोरोनाका कारण गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न ढिलो
मन्त्री भट्टराईले कोभिडको असरका कारण गौतमबुद्ध विमानस्थल पूरा गर्न र निजगढको तयारी गर्नमा ढिलो भएको बताए। उनले भने "कोभिडको कारण गौतमबुद्ध विमानस्थलमा करिब रु.३ अर्बको काम अझै गर्न बाँकी रहेको छ। यद्यपि यो विमानस्थलको काम ९२ प्रतिशत पूरा भएको छ।"
यस्तै निजगढ विमानस्थल निर्माणको तयारीमा पनि कोभिडको असर परेको छ। यो विमानस्थलमा निर्माणका लागि कटान गर्नुपर्नेमध्ये ६० हजार रुखको गणना पनि सकिएको र थप काम अगाडि बढीरहेको जानकारी मन्त्री भट्टराईले दिए।