अर्थतन्त्रमा शिथिलता, शेयर बजारमा उत्साह
कोरोना भाइरसले सिर्जना गरेको संकटका कारण अर्थतन्त्रमा गहिरो धक्का पुगेपनि शेयर बजार परिसूचक नेप्से भने लगातार बढिरहेको छ।
गत सातादेखि लगातार बढिरहेको नेप्से मंगलबार ९.३४ अंकले बढेर १ हजार ४४१ विन्दुको नजिक पुगेको छ। निषेधाज्ञाका कारण आवतजावत बन्द भएपनि अनलाइनमार्फत सोमबार रु. १ अर्ब ८५ करोडको शेयर किनबेच भयो।
आइतबार अनलाइनमार्फत रु. २ अर्ब १४ करोड बराबरको शेयर किनबेच भएको थियो। अरु व्यवसाय ठप्प भएपछि अन्यत्र जाने लगानी आउँदा शेयर बजार चम्किएको अनुमान गरिएको छ।
मंगलबार नेप्सेमा १८९ कम्पनीका ३९ लाख ४० हजार कित्ता शेयर किनबेच भए। त्यसमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५४ वटाको घटेको छ। व्यापार, उत्पादन तथा म्युचुअल फण्डबाहेक अन्य सबै समूहका उपसूचकहरु सकारात्मक भएका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह १.७१ प्रतिशतले बढेको छ।
मंगलबारको कारोबारमा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य ७.६९ प्रतिशतले बढेको छ। त्यस्तै, आशा लघुवित्तको शेयर मूल्य ६.१९ प्रतिशतले बढेको छ । तर, सबैभन्दा धेरै समृद्धि फाइनान्सको शेयर मूल्य ६.५४ प्रतिशतले घटेको छ।