पाँचसय बेड क्षमताको आइसोलेसन कक्ष बनाउन मुख्यमन्त्री राईको निर्देशन
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
अस्पतालमा तत्काल पीसीआर परीक्षणको दायरा बढाउन, कोरोना भाइरस संक्रमित र अन्य विरामीहरूलाई छुट्टाछुट्टै स्थानमा उपचार व्यवस्था मिलाउन, ५०० बेड क्षमताको आइसोलेसन कक्ष, कोभिड अस्पताललाई २०० बेड क्षमताको बनाउन र आवश्यक समन्वय गर्नका लागि संयन्त्र निर्माण गर्न वीपीका पदाधिकारीहरूलाई निर्देशन दिए।
प्रतिष्ठानका बारेमा जनस्तरबाट ब्यापक गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरू उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्ट्रार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गर्नुका साथै निर्देशन दिएका हुन्।
मुख्यमन्त्रीको निर्देशनसँगै वीपीका पदाधिकारीहरूले तत्काल आवश्यक कामहरू थाल्ने जानकारी गराएका छन्। अस्पतालमा भर्ना भएका विरामीहरूको स्तरीय उपचार गर्न र अन्य रोगका विरामीहरूलाई बिना उपचार नफर्काउन समेत निर्देशन दिए।