आन्तरिक हवाई उडान तत्काल शुरु नहुने, हिमाली र पहाडी क्षेत्रबाट सीमित उडान गर्ने तयारी
कोभिड-१९ को संक्रमण बढ्दै गएको र स्थानीय तहले विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्ने काम गरेकोले १६ भदौदेखि तय भएको आन्तरिक हवाई उडान तत्कालै शुरु नहुने अवस्थामा पुगेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलबार (९ भदौमा) पर्यटन मन्त्रालयको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने क्रममा भने "आन्तरिक उडान सञ्चालन गर्ने विषयमा वायुसेवा सञ्चालक संघसँग समन्वय गरेर उडान तालिका छिट्टै सार्वजनिक गरिने छ।"
मन्त्री भट्टराइले स्वदेशी र विदेशी नागरिकलाई हवाई भाडा समान बनाउन डलर फेयर हटाउन लागिएको पनि बताए। उनले "भने पर्यटन मन्त्रालयको धारणा स्वेदशी र विदेशीलाई एउटै भाडादर बनाउने भन्ने नै हो। यसका लागि मन्त्रालयले अध्ययन गराएको र प्रतिवेदन मन्त्रालमा आइसकेको छ।"
वायुसेवा सञ्चालक संघसँग समन्वय गरेर यस्तो भाडादर तय हुने र अब सबै ठाउँमा डलरमा भाडा नहुने मन्त्री भट्टराईको भनाइ छ।
हवाई भाडा पुनरावलोकन समितिले पोखरा, जोमसोम, लुक्ला, भरतपुर र तुम्लिङटारको लागि डलर भाडा कायम राख्ने र अन्य सबै क्षेत्रबाट हटाउने प्रस्ताव गरेको छ।
मन्त्री भट्टराईका अनुसार सरकाले १६ भदौदेखि हुने नियमित हवाई उडान भने सीमित यात्रुका आधार तय गरेर सुरुगर्ने जानकारी दिए। हाल पाँचसय जना नियमितबाट र चार्टरबाट पनि सोही संख्यामा यात्रु ल्याउन पाउने गरी उडान अनुमित दिइएको छ।
संक्रमणको दर बढेकोले उडान संख्या पनि थोरै र दैनिक पाँचसय जना मात्रै आउन दिइएको हो। कोभिड नियन्त्रण हुँदै जाँदा विस्तारै चार्टर्ड उडान घट्ने र नियमित उडान बढ्ने अवस्था आउने पनि उनको भनाइ छ।