कोरोनाबाट काठमाडौंमा कांग्रेस वडा सभापतिको मृत्यु
काठमाडौं महानगरपालिकामा कोरोना संक्रमणबाट नेपाली कांग्रेसका वडा सभापतिको मृत्यु भएको छ। महानगरको वडा नम्बर २१ वसन्तपुर घर भएका गोविन्द रञ्जितको आज मध्यान्ह मृत्यु भएको वडा अध्यक्ष उदय चुडामणि बज्राचार्यले जानकारी दिए।
स्वास्थ्यमा समस्या देखिएपछि २७ साउनमा स्टार अस्पताल भर्ना भएका उनलाई दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित भएपछि उनलाई सशस्त्र प्रहरी अस्पताल बलम्बु लगिएको र त्यहीँ उपचाररत उनको आज मध्यान्ह मृत्यु भएको अस्पतालले जनाएको छ।
रञ्जितलाई यसअघि मुटु सम्बन्धी समस्या रहेको परिवारले बताएको वडाध्यक्ष बज्राचार्यले बताए।
वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका स्वर्गीय रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।