काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, तीन जिल्लाका सिडिओको बैठक बस्दै
कोरोनाभाइरस संक्रमणको जोखिम उच्च बनेपछि काठमाडौं उपत्यकामा ३ भदौ मध्यरातबाट लागू गरिएको निषेधाज्ञा थप गर्नेबारे छलफल गर्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक बस्दैछ।
३ भदौ मध्यरातदेखि लागू गरिएको निषेधाज्ञाको अवधि बुधबार मध्यरातमा सकिंदैछ। त्यसअघि नै निषेधाज्ञा थपसम्बन्धी आदेश जारी गर्नुपर्ने भएकाले समन्वयका लागि मंगलबार काठमाडौं, भक्तपुर र ललितपरका सिडिओहरुको बैठक बस्न लागेको हो।
काठमाडौं उपत्यकाभित्रका महानगरपालिका तथा नगरपालिकाहरुको संयुक्त मञ्चको सोमबारको बैठकले १५ भदौसम्म निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गर्ने निर्णय गरेको थियो। बैठकले त्यतिञ्जेल अत्यावश्यक बाहेक स्थानीय सरकारले दिने सबै सेवा बन्द गर्ने निर्णय समेत गरेको थियो।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मंगलबार अपराह्न ४ बजे सिडिओहरुको संयुक्त बैठक बस्न लागेको जानकारी दिइन्।
‘आजको बैठकमा हामी निषेधाज्ञा लगाएपछिको अवधिबारे समीक्षा गर्दैछौं’, पाण्डेले भनिन्, ‘निषेधाज्ञा थप गर्ने वा के गर्ने भन्ने निर्णय त्यहीँबाट हुन्छ।’
उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरुले निषेधाज्ञा आदेश जारी गरेपछि ३ भदौ मध्यरातदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालयहरुले मानिसहरू मर्निङ वाकमा निस्किने क्रम नरोकिएकाले त्यसमा पनि कडाइ गर्ने तयारी गरिरहेका छन्।