सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई-बुकमा सार्वजनिक
सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात् परिवर्तन’ ई-बुकका रुपमा सार्वजनिक गरिएको छ। शाक्यको अघिल्लो पुस्तक ‘अर्थात् अर्थतन्त्र’ कै परिवेशमा लेखिएको यो निबन्ध सँगालोको पुस्तक पब्लिकेसन्स् नेपालयले प्रकाशन गरेको हो। यसअघि यो पुस्तकका पाँच वटा अध्याय सार्वजनिक गरिएको थियो।
यस पुस्तकले नेपाली समाजलाई गरीबीको शिकार बनाइराख्ने रोगहरूको स्वभाव खोतल्दै यस्ता सामाजिक समस्या उन्मूलनका लागि समाधानका उपाय पनि सुझाएको छ।
"यो पुस्तकको एकल अध्याय सार्वजनिक गरेपछिको प्रतिक्रिया उत्साहजनक रह्यो", नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, "एकल अध्यायहरू सार्वजनिक गर्दा र अन्य पुस्तकहरुको ई-बुक संस्करणप्रतिको पाठक रुचीले, नेपाली पुस्तक बजार ई-बुकको निम्ति तयार रहेको इंगित गरेको छ ।"
‘अर्थात् परिवर्तन’ को ई-बुक थुप्रैडटकम मार्फत किनेर पढ्न सकिने व्यवस्था मिलाइएको नेपालयले जनाएको छ। ई-बुकको मूल्य रु. २५० राखिएको छ। यस्तै, पाठकलाई रु. १५ मा एकल अध्याय किन्ने र लेखककै आवाजमै सुन्न सकिने सुविधा पनि दिइएको छ। एकल अध्यायहरू किनेर पढिसकेका पाठकलाई ई-बुकमा छूटको व्यवस्था गरिएको छ। यसका अध्यायहरु माथिकै मूल्यमा लेखककै आवाजमा सुन्न सकिने व्यस्था पनि गरिएको छ।
पुस्तकको छापा संस्करण कोरोनाभाइरसको संक्रमण जोखिम कम भएपछि बजारमा उपलब्ध गराउने नेपालयको योजना छ।
लेखक शाक्यले मुलुक लोकतान्त्रिक संघीय प्रणालीमा रूपान्तरण भएपछि विकासको मूल्यांकन र समृद्धिका लागि जुट्नुपर्ने यात्रामा देखिएका चुनौती र अवरोधलाई सम्बोधन गर्नुपर्ने देखिएको र समृद्धि र सपना प्राप्त गर्न सकिन्छ भन्ने विश्वासका साथ पुस्तकले यिनै कुरालाई वर्गीकृत गर्दै उपचार खोज्ने प्रयास गरेको बताएका छन्।
कोरोना महामारीले भौतिक उपस्थितिमा हुने सार्वजनिक कार्यक्रमहरू प्रभावित भएपछि नेपालयले पुस्तक सार्वजनिक गर्ने प्रत्यक्ष कार्यक्रमको विकल्प स्वरुप यूट्युब च्यानलमा पुस्तक वार्ताको थालनी समेत गरेको छ। नेपालयको ‘आर’शालामा लेखकहरुसँग गरिने भिडिओ संवाद शृंखलालाई पुस्तक वार्ताका रुपमा राख्न थालिएको छ। पुस्तक ‘अर्थात् परिवर्तन’ का लेखक सुजीव शाक्यसँगको पुस्तक वार्ता पनि यूट्युबमा उपलब्ध गराइएको छ।
‘अर्थात् परिवर्तन’ शाक्यको चौथो पुस्तक हो।