जुम्लामा चट्याङ लागेर ५०० भेडा मरे
जुम्ला जिल्लाको पूर्वी क्षेत्र पातारासी गाउँपालिकाको पाटनमा सोमबार दिउँसो चट्याङ पर्दा करीब ५०० भेडा मरेका छन्।
बागजालेम सामुदायिक वन अन्तर्गतको ढाडखर्क मासिमसेरामा चट्याङ परेपछि स्थानीय विष्णु बुढा, जयबहादुर बोहोरा लगायतका भेडा मरेका हुन्। पातारासी– ४ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार घटनास्थलतर्फ किसानहरू गइरहेका छन्। क्षतिको यकिन विवरण आइसकेको छैन।
चरण क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुख्र्यौली पेशालाई नै बज्रपात परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए। पातारासी क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत भेडापालन हो।
बुढथापाले भने, “सबै भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुश्किल पर्ने अवस्था आएको छ।” जुम्लामा २०७० सालमा पनि निरन्तर परेको असिना, पानी र हावाहुरीले करीब ७०० भेडा मरेका थिए।