भदौका लागि तोकिएको क्रिकेट संघको साधारणसभा स्थगित
नेपाल क्रिकेट संघ (क्यान) ले भदौका लागि तोकिएको वार्षिक साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “विश्वव्यापी महामारी र देशका अधिकांश भागमा जारी बन्दाबन्दीका कारण भदौको मध्यमा गर्ने तालिका तोकिएको क्यानको वार्षिक साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।”
गएको साउनमा भएको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो। आईसीसीसँगको समन्वयमा मिति तय गर्न बैठकले भदौ दोस्रो हप्ताको समय राखेको महासचिव प्याकुरेलले बताए।
तर, देशव्यापी बन्दाबन्दी र संक्रमण फैलँदै गएपछि संभव नभएको उनले बताए। ”साधारणसभा गर्ने अवस्था नभएकाले जिल्ला संघहरुलाई हुने/नहुने अन्योल नहोस् भनेर स्थगित गरेको सूचना निकालेका हौँ।”