उच्च जोखिममा काम गर्नेलाई जुलाईदेखि नै कोरोनाविरुद्धको खोप दिइरहेको चीनको भनाइ
चीनले गत जुलाईदेखि उच्च जोखिमको क्षेत्रमा काम गरिरहेकाहरुलाई कोरोनाभाइरस विरुद्धको खोप दिइरहेको जनाएको छ। खासगरी स्वास्थ्यकर्मी र सीमा रक्षकहरुलाई तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ चलिरहेको उक्त खोप दिइएको छ।
चीनको ‘नेशनल हेल्थ कमिसन’ को विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईको भनाइ उधृत गर्दै सीसीटीभीले जनाए अनुसार गएको २२ जुलाईदेखि नै खोप लगाउन अनुमति दिइएको हो। उक्त खोप चीनको नेशनल बोयोटिक ग्रुपले विकास गरेको हो। तेस्रो चरण अन्तर्गत खोपको अहिले युएई, पेरु, मोरक्को र अर्जेन्टिनामा परीक्षण भइरहेको छ।
झेङले भनेका छन्, “हाम्रो देशको खोप कानूनको दफा २० मा स्पष्ट भनिएको छ कि जब जनस्वास्थ्यमा उच्च संकट आउँछ नेशनल हेल्थ कमिसनले परीक्षणमा रहेको खोप आपतकालीन प्रयोगका लागि निवेदन दिन्छ र स्टेट फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनले विज्ञहरुमार्फत मूल्याङ्कन गरेर निश्चित मात्रा र समयका लागि लगाउन अनुमति दिन्छ।”
झेङले खोप अनुसन्धान र विकास गर्ने समूह ‘जोइन्ट प्रिभेन्सन एन्ड कन्ट्रोल मेकानिजम अफ स्टेट काउन्सिल’ को नेतृत्व गरिरहेका छन्। आउँदो शरद वा जाडोसम्ममा कोरोनाभाइरस संक्रमण रोक्ने यो भाइरस पूर्ण प्रयोगमा आइसक्ने उनले बताएका छन्।
कुनै पनि खोप प्रि–क्लिनिकल र क्लिनिकल ट्रायलपछि मात्र आम सर्वसाधारणलाई लगाउन योग्य मानिन्छ। प्रिक्लिनिकल ट्रायलमा जनावरहरुमा यसको परीक्षण हुन्छ। ‘क्लिनिकल ट्रायल’को पहिलो चरणमा १० देखि ५० जना स्वयमसेवकलाई खोप लगाइन्छ।
पहिलो चरण सफल भएपछि दोस्रो चरणको क्लिनिकल ट्रायलमा ५०० देखि एक हजारसम्म र तेस्रो चरणमा एक हजारभन्दा धेरैमा खोप लगाइन्छ। यसले रोग प्रतिरोध गर्नुका साथै शरीरमा ठूलो हानी नगर्ने प्रमाणित भएपछि मात्र सर्वसाधारणका लागि ‘मास–प्रोडक्सन’ गरिन्छ।
-सीएनएनबाट