बागमतीको जलसतह सतर्कता विन्दुमा, उपत्यकाका अन्य नदीमा पनि पानीको बहाव बढ्यो
काठमाडौँ उपत्यकामा गए रातिदेखि भएको वर्षाका कारण बागमतीको जलसतह बढेर सतर्कता विन्दुमा पुगेको छ।
बागमती र यसका सहायक नदीको जलाधार क्षेत्रमा मध्यम वर्षा भएका कारण काठमाडौँको गौरीघाटमा जलसतह १ मिटर बढेर सतर्कता विन्दुमा आइपुगेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी विष्णुमती, हुनुमन्ते र मनोहरामा पनि पानीको बहाव बढ्दो छ।
यी नदीसहित नालाको पानीसमेत सडकमा आउन सक्ने भन्दै महाशाखाले बिहान ८ बजेसम्म सजक रहन आग्रह गरेको छ। नदी किनार भइ हिँड्नेलाई पनि सतर्कता अपनाउन आग्रह गरिएको छ।
गए राति नै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, तनहूँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ र रूकुमको केहि स्थानमा मध्ययम तथा भारी वर्षा भएको छ। ती स्थानका आसपासको साना नदीमा आकस्मिक बहाव आउनसक्ने भन्दै महाशाखाले कम्तीमा बिहान ७ बजेसम्म सतर्क रहन आग्रह गरेको छ।