कोरोना अपडेटः आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने कोरोनाका सिकिस्त विरामी बढ्दै
मुलुकमा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमितको संख्या बढेको छ। हालसम्म कोरोनाका सक्रिय संक्रमितमध्ये १५ जनाको भेन्टिलेटर र १३८ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रदेश-१ मा १८ जना, प्रदेश-२ मा ४६ जना, वागमती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश-५ मा १४ को आईसीयूमा राखेर उपचार भइरहेको छ। भेन्टिलेटरमा राखेर उपचार भइरहेका १५ जना संक्रमित भने सबै बागमती प्रदेशका रहेका छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला दिनहरूमा भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गर्नुपर्ने कोरोना संक्रमितहरू बढिरहेका छन्।
४ भदौसम्ममा १३७ जना कोरोना संक्रमित सिकिस्त बिरामीको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार भएको थियो। त्यति बेलासम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ११५५५ थियो। भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गरिएका कोरोना संक्रमितको संख्या १ भदौसम्ममा १०७ थियो।
२८ साउनसम्म २९ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा राखेर उपचार भएको थियो। त्यति बेलासम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७६१३ थियो।
२१ साउनसम्ममा ५० र १६ साउनसम्ममा २४ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार भएको थियो।
यसरी २३ दिनको अन्तरमा भेन्टिलेटर र आईसीयूको सहायतामा उपचार गर्ने कोरोनाका सिकिस्त बिरामीको संख्या २४ बाट बढेर १५३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकमा कोरोना भाइरसका कारण अहिलेसम्म ३२६७८ जना संक्रमितमध्ये १३७१५ जना सक्रिय संक्रमित छन्।