बन्दाबन्दीपछि ठूलो धन विदेशिन रोकियो
कोरोना भाइरसको संक्रमण विस्तार रोक्न लगाइएको बन्दाबन्दीका कारण गत आर्थिक वर्षको अन्तिम चौमासिकमा विदेशिने ठूलो रकम बचत भएको छ।
नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७६/७७ मा नेपालीले वैदेशिक भ्रमण शीर्षकमा रु. ५३ अर्ब १३ करोड खर्च गरेका छन्, जुन त्यसभन्दा अघिल्लो वर्षको तुलनामा करिब ४१ प्रतिशत कम हो। आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक भ्रमण शीर्षकमा नेपालीले रु. ८९ अर्ब ९० करोड खर्च गरेका थिए।
विगत वर्षहरुमा यस्तो खर्च सालिन्दा बढ्दै आएपनि गत वर्ष भने ह्वात्तै घटेको हो। बन्दाबन्दीका कारण नेपालीको वैदेशिक भ्रमण तथा विदेशका कलेज र विश्वविद्यालयमा पढ्न जान रोकिएका कारण यो रकम बचत भएको हो। राष्ट्र ब्यांकले बन्दाबन्दी शुरु हुनुअगाडि नै विदेशी मुद्राको सञ्चिती घट्न नदिन डलर सटही सुविधा २५०० डलरबाट घटाएर १५०० डलर बनाएको थियो।
गत आर्थिक वर्षमा खासगरी वैदेशिक शिक्षामा जाने ठूलो रकम बाहिरिन रोकिएको तथ्यांकले देखाएको छ। वैदेशिक शिक्षाअन्तर्गत गत आर्थिक वर्षमा रु. २५ अर्ब ८१ करोड मात्रै विदेशिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४४.३ प्रतिशत कम हो। आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक शिक्षाका लागि मात्रै रु. ४६ अर्ब ३२ करोड विदेशिएको थियो।
यद्यपि, बन्दाबन्दीका बावजूद हवाई यातायातका लागि विदेशिने रकम भने घट्न सकेन। गत आर्थिक वर्षमा यातायात शीर्षकमा रु. ६६ अर्ब १५ करोड खर्च भयो, जुन त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा रु. ६५ अर्ब ८२ करोड खर्च भएको थियो।
कोरोना भाइरसका कारण वैदेशिक आयातमा सुस्तता आएका कारण पनि देशको बाह्य क्षेत्र सकारात्मक भएको राष्ट्र ब्यांकको तथ्यांकले देखाएको छ। चैत यता आयात सुस्त भएका कारण वस्तु खरिद गर्दा बाहिरिने विदेशी मुद्रा जोगिएको छ। गत आर्थिक वर्षमा देशको आयात १५.६ प्रतिशतले घटेर रु. ११ खर्ब ९७ अर्बमा सीमित भएको छ।
खासगरी, पेट्रोलियम पदार्थको आयात करिब एक चौथाईले घटेको छ। गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयातमा रु. १ खर्ब ६३ अर्ब खर्च भयो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब रु. ५२ अर्ब बचत हो। सवारी साधन, फलाम, तयारी कपडा, मेसिन र उपकरण, सुन लगायतका कयौं वस्तुको आयात घटेको छ।
आयात घटेका कारण देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर, शोधनान्तर स्थिति रु. २ खर्ब ८२ अर्ब नाफामा छ। अघिल्लो आर्थिक वर्षमा शोधनान्तर स्थिति रु. ६७ अर्ब ४० करोडले घाटामा थियो। चालु खाता घाटा पनि रु. ३२ अर्ब ६ करोडमा सीमित भएको छ, जुन अघिल्लो आर्थिक वर्षमा २ खर्ब ६५ अर्ब थियो।
आयात ह्वात्तै घटेको तथा रेमिटेन्स आयमा खासै गिरावट नआएका कारण गत असारसम्ममा देशको वैदेशिक मुद्राको सञ्चिती रु. १४ खर्ब १ अर्ब पुगेको छ। एक वर्षको बीचमा विदेशी मुद्राको सञ्चिती करिब २ अर्ब १५ करोड डलरले बढेको छ। यो सञ्चितीले करिब १४ महिनाको वस्तु आयात थेग्न सक्छ ।