होम आाइसोलेसनमा बसेका कोरोना संक्रमितलाई घर-घर पुगेर हौसला दिँदै इटहरीकी उपमेयर
सुनसरीको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम कोरोना संक्रमण पुष्टि भएर घरमै होम आइसोलेसनमा बसिरहेकाहरूलाई घरमै पुगेर हौसला दिइरहेकी छन्।
जनस्वास्थ्य अधिकृतसहित दुई जना स्वास्थ्यकर्मी समेत लिएर उनी आइतबारदेखि संक्रमितहरूको घर-घर जान थालेकी हुन्। हिमालखरसँग साँझ ६ बजेको समयमा टेलिफोनमा कुरा गर्दै उपमेयर गौतमले भनिन्, “म अहिले पनि समुदायमै छु, वडा नम्बर ५ मा होम आइसोलेसनमा बस्नु भएकाहरूलाई भेटिरहेको छु। मसँगै दुईजना स्वास्थ्यकर्मीहरू पनि हुनुहुन्छ।”
उनले आइतबार वडा नम्बर ४, ६, ९ का वडाहरूबाट भेटघाट थालेकी उनले फलफूल तथा जडिबुटी औषधिहरू समेत लग्दिने गरेको बताइन्।
"उहाँहरू यतिबेला एक्लो हुनुहुन्छ र हौसलाको आवश्यकता छ। त्यसैले सुरक्षा मापदण्ड अपनाएर उहाँहरुसँग भेट्ने, परिवार र छरछिमेकसँग समेत भेटेर कुराकानी गर्ने गरेको छु। सबै जना खुशी हुनुभएको छ," उनले भनिन्।
केही दिनअघि घरमै बसेका एकजना संक्रमितलाई टोलछिमेकले घरमा बस्न नदिएपछि एक होटलमा लगेर राख्नुपरेपछि यसरी भेटघाट गर्नु उचित हुन्छ भन्ने लागेको गौतमले बताइन्।
"त्यो घटनाले साह्रै दुःखी भएँ, त्यसपछि मलाई समुदाय स्तरमै गएर सबैसँग कुराकानी पनि गर्ने र संक्रमितको मनोविज्ञान बुझ्ने तथा हौसला दिनु उचित हुन्छ भन्ने लाग्यो। त्यसपछि सरसल्लाह गरेर स्वास्थ्यकर्मीसहित अभियानकै रुपमा भेटघाट थालेकी छु," उनको भनाइ छ।
उनका अनुसार टोल छिमेकले घरमा बस्न नदिएर एक रात होटलमा राखिएको ती व्यक्तिलाई पनि भोलिपल्टै घरमै फर्काइएको छ। "अहिले उहाँ घरमै बसिरहनु भएको छ, समुदायले पनि गर्नुपर्ने सहयोग गर्न थाल्नुभएको छ," उनले भनिन्।
हिजो ११ जनालाई भेटेकी उनले आज साँझसम्म पनि १३ जनालाई भेटेको बताइन्। उनीसँग दुईजना स्वास्थ्यकर्मी पनि सँगै हुन्छन्। "स्वास्थ्यकर्मीहरूले आवश्यक औषधिहरू पनि बोक्नुहुन्छ। होम आइसोलेसनमा बस्दाको मापदण्ड पुरा भए नभएको अनुगमन पनि भयो, आवश्यक सुझाव समेत दिनुपर्ने भएकाले उहाँहरुलाई पनि साथै लिएर हिँडेको छु," उनले भनिन्।
उपमहानगरपालिकामा करिब ८० जना संक्रमित भएकोमा ३५ जना होम आइसोलेसनमा छन्। भेट्न बाँकीलाई भोलि पनि भेटघाट गर्ने उपमेयर गौतमले हिमालखबरसँग भनिन्।
“त्यही घरमै बस् भनेको जस्तो गर्नु ठीक भएन। हामी गयौं भने संक्रमितलाई पनि हौसला बढ्ने र समाजले पनि सहयोग गर्छन्, भन्ने लाग्यो, तपाईले राम्रो काम शुरु गर्नुभयो भनेर धेरै तिरबाट मलाई फोन आइरहेको छ,” उनले भनिन्।