अब सबै कोरोना अस्पताल एउटै वर्गमा, पुरानो व्यवस्था खारेज
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारोना संक्रमितको उपचारका लागि तोकेका अस्पतालहरूलाई मर्ज गरेर एकै वर्गमा राख्ने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयको इन्सीडेन्ट कमान्ड सिस्टम र स्वास्थ्य मन्त्री उपस्थित भएको बैठकले तीन वर्गमा बाँडिएका अस्पतालहरूलाई मर्ज गरेर एउटै वर्गमा राख्ने निर्णय गरेको हो।
आइतबार भएको उक्त निर्णय अनुसार पहिले भएका लेभल–१, लेभल–२ र लेभल–३ अस्पतालहरूलाई मर्ज गरेर एकै वर्गमा राख्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीले बताए।
मन्त्रालयले लेभल–१ मा २३, लेभल–२ मा १८ र लेभल–३ मा ७ वटा निजी तथा सरकारी अस्पताललाई वर्गिकरण गरेर छुट्याएर राखेको थियो।
यी कोरोना उपचार हुने स्वास्थ्य मन्त्रालयले तोकेका अस्पतालहरू हुन्। आइतबार संक्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालयले मेघा अस्पताल पनि थपेको छ।
यससँगै मन्त्रालयको ७ भदौको निर्णय अनुसार कोरोना संक्रमितको उपचार गर्ने ४९ वटा अस्पताललाई मर्ज गरेर एकै वर्गमा राखिएको छ।
“कोरोना संक्रमित व्यक्ति उपचारका लागि लेभल–२ मा जाँदा भर्ना गर्न नसक्ने भन्दै लेभल–१ मा रेफर गर्ने प्रवृत्ति देखियो,” स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. अधिकारी भन्छन्, “त्यसैले तोकिएका कोरोना अस्पतालहरूमा जे जस्तो सुविधा छ, त्यसै अनुसार भएको सेवा प्रयोग गरेर त्यहीँ उपचार गर्ने व्यवस्था मिलाउनका नयाँ निर्णय गरिएको हो।”
पछिल्लो निर्णयपछि अनावश्यक रुपमा कोरोना संक्रमित बिरामी रेफर गर्ने क्रम घट्ने मन्त्रालयको अपेक्षा छ।