विदेशमा पीसीआर रिपोर्ट नेगेटिभ हुनेहरू नेपाल आएपछि होटल क्वारेन्टिनमा बस्नु नपर्ने
विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरूले होटल क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट आउने नागरिकहरूले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरू सिधै घर जान पाउने स्पष्ट पारेका हुन्।
सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरूलाई उद्धार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो। कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरूले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरूले होटल क्वारेन्टिनमा बस्नुनपर्ने उनले बताए।
"जहाँ पीसीआर परीक्षण सहज हुन्छ र कोरोना संक्रमणको दर पनि कम छ त्यस्तो ठाउँबाट पीसीआर परीक्षण गरेका प्यासेन्जर बोकेर मात्र आउने। त्यसका लागि नियमित उडानहरू खोल्ने तयारी भएको छ। १६ भदौ (१ सेप्टेम्बर) बाट कुनकुन देशहरू भन्ने भोली फाइनल सूचि सार्वजनिक हुन्छ," उनले भने, "पीसीआर गरेका यात्रुहरूले सरकारले वेबसाइटमा राखेको फर्म भर्नुपर्छ। नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ। र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित घर जान दिइन्छ।"
पीसीआर परीक्षण सहज नभएका मुलुकहरूका लागि उद्धार उडान गरिने उनले बताए। पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकहरूले होटल क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाइ छ। अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च बेहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरूमा समेत रहेको उल्लेख गर्दै उनले रू ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने बताए।
"यदि एक कोठामा २ जना बस्ने हो भने ७ रात र ८ दिनको प्याकेज ११ हजारमा हुन्छ। सिंगल बस्ने हो भने रू. १७ हजार ५ सय हुन्छ। दिनको रू. १५ सयको हाराहारीमा हुन्छ। होटलहरू स्वास्थ्य मापदण्ड पुरा गरेको हुनुपर्छ। गेट र कम्पाउण्ड भएको होटल, खुला ठाउँ भएको, सफा भएको, कोठामा टिभी र वाईफाई हुनुपर्छ। एट्याच ट्वाइलेट र बाथरुम हुनुपर्छ। तातोपानी पिउने व्यवस्था गर्नुपर्छ। ४ पटक खाजा र खाना दिनुपर्छ," उनले भने, "त्यो भन्दा महंगोमा बस्छौँ भन्नेका लागि रू. २५ सय र रू. ४ हजार भन्दा बढीका होटलहरू पनि छन्।"
विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरूलाई भने सरकारी खर्चमा उद्धार गरिने उनले बताए।
"सरकारले नै खर्च बेहोर्ने हो, तर त्यो सक्दै नसक्नेका लागि मात्रै हो। विदेशमा अलपत्र परेका, फर्कने कुनै आधार नभएका व्यक्तिहरूलाई श्रम कल्याणकारी कोषबाट सरकारले टिकट पनि काट्छ। यहाँ आएर होटल क्वारेन्टिनको विषय पनि सरकारले बेहोर्छ र पीसीआर खर्च पनि सरकारले बेहोर्छ," उनले भने, "त्यसका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको कुटनीतिक नियोगसँग समन्वय गरेर लिष्ट फाइनल गर्छ। त्यस्तै कुनै कम्पनीले आफ्नो कम्पनीबाट मान्छे पठाउँछ भने उहाँहरूले टिकट पनि काट्नुपर्छ। कम्पनीले नै क्वारेन्टिन बस्दा लाग्ने खर्च बेहोर्नुपर्छ। पीसीआर परीक्षण गरी पठाउँछु भन्यो भने पनि सरकारले त्यही अनुसार पनि उद्धार गर्छ।"
पीसीआर अनिवार्य गरिएका देशहरूबाट कोरोना पोजिटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरूको क्वारेन्टिन खर्च बेहोर्नुपर्ने उनले बताए।
नेपाल घुम्न आउने पर्यटकहरूका लागि नभएर विदेशमा अलपत्र परेका नेपाली, नेपाल आउनै पर्ने कुटनीतिक नियोगका पदाधिकारी र विकास साझेदार संस्थाका कर्मचारीहरू मात्रै आउन पाउने उनले बताए। परिस्थिति अनुकुल भएपछि अन्य देशहरूको समेत अवस्था हेरेर नियमित उडान सुरु हुने उनले बताए।