पूजारी हत्याको घटनाबारे अनुसन्धान भइरहेको छ: नेपाल प्रहरी
प्रहरी प्रधान कार्यालयले रौतहटमा भएको पूजारी हत्याको घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
गत बुधबार भएको हत्याको घटना रहस्यमय बनेको र प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन नसकेको भन्दै आलोचना भइरहेका बेला प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचनामार्फत् अनुसन्धान भइरहेको जनाएको हो।
रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियास्थित हनुमान मन्दिरका पूजारी श्रीराम साहको गत बुधबार राति गोली हानेर हत्या गरिएको थियो।
"हत्या सम्बन्धमा यहाँहरूले विभिन्न माध्यमबाट व्यक्त गर्नुभएको जिज्ञासा र सरोकारप्रति नेपाल प्रहरी सचेत रहेको छ", प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ, "जिल्ला प्रहरी कार्यालय रौतहटबाट घटनाको अनुसन्धान भइरहेको छ, संघीय प्रहरी इकाई कार्यालय जनकपुर र प्रदेश २ को प्रदेश प्रहरी कार्यालय जनकपुरबाट समेत जिप्रका रौतहटलाई आवश्यक सहयोग उपलब्ध गराइएको छ।"
प्रहरी प्रधान कार्यालयले आफूले समेत अनुसन्धानको अनुगमन गरिरहेको उल्लेख गरेको छ।