कांग्रेस महामन्त्री डा. शशांक भन्छन्- 'देउवालाई म बाहेक कसैले हराउन सक्दैन'
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको बताएका छन्। १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने कोइरालाको जिकिर छ।
पार्टी सभापतिका लागि अरू नेताहरूको दाबी रहे पनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहने उनले बताए।
महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दाबी गरे। “मैले धेरैसँग परामर्श गर्दैछु। उनीहरू तपाईं नै उठ्नुपर्यो भन्छन्। तर रामचन्द्र दाइ, सिटौलाजी, प्रकाशमान लगायत धेरै हुनुहुन्छ, सबै उठेर भएन। हाम्रो लक्ष्य सबै मिलेर एक जना उठ्ने हुनुपर्यो। त्यसका लागि आपसमा वार्ता गरेर हामी सबै एक ठाउँमा पुग्न सकियो भने सम्भव हुन्छ” उनले भने, “व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ। रामचन्द्र दाइले पनि सक्नुहुन्न। अरु कसैले पनि सक्दैन। यो ग्यारेण्टीका साथ भन्न चाहन्छु म बाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति नै छैन।”
महाधिवेशन नजिकिंदै गर्दा सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरीत गरिरहेको भन्दै उनले असन्तुष्टि जनाए। सभापति देउवाले पार्टीका विभागहरू गठन गरिरहेको प्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उनको भनाइ छ। पार्टीभित्र जतिसुकै विरोध गर्दा पनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताए।
उहाँले मनोमानी गर्नुभयो। सभापतिले गरेका कामहरूको विरोध त गरिसकेका छौँ। उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्यो, किनकि अरू विकल्प छैन। पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न उठ्यो। - डा. शशांक कोइराला
“उहाँले मनोमानी गर्नुभयो। सभापतिले गरेका कामहरूको विरोध त गरिसकेका छौँ। उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्यो, किनकि अरू विकल्प छैन। पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न उठ्यो,” उनले भने।
उनले भोट आकर्षणका लागि अहिले आएर देउवाले विभाग गठन गरेको आरोप लगाए। “भोलि महाधिवेशन आउँदैछ, आज मान्छे आकर्षित गर्न विभाग बनाउँदै हुनुहुन्छ। विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ। मनपरी गर्दै हुनुहुन्छ,” उनले भने।
आफूले बाँकी रहेको ९ महीनामा गठन भएका विभागले केही गर्न नसक्ने भएकाले नगर्न आग्रह गरे पनि देउवाले नमानेको उनको भनाइ छ। “आफ्ना कुरा राख्न बाहेक अरू केही गर्न सकिंदैन। भोक हड्ताल गर्ने हो भने अवस्था खतरापूर्ण आउनसक्छ,” उनले भने ।
उनले महाधिवेशन गर्ने भए सबैभन्दा पहिले जिल्ला र इकाईको अधिवेशन हुनुपर्ने र क्रियाशील सदस्यता वितरण सही किसिमले गर्नुपर्ने बताए।
“दशदश लाख क्रियाशील सदस्य बनाउँदा गाईजात्रा हुने डर छ। नसोधेर सबैलाई केन्द्रीय सदस्यमा घुसाउनुभएको छ। क्रियाशील सदस्यता दिनुभएको छ। आउनेहरू क्रियाशील हुन् कि होइनन् भनेर पनि पुष्टि गर्नुपर्यो,” उनले भने।
महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वाभाविक भए पनि सधैंभरि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उनको भनाइ छ। आफू सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने दाबी कोइरालाले गरे।
“पार्टीमा अहिले धेरै गुट उपगुट छन्। महाधिवेशनका लागि यसो हुनु स्वाभाविक पनि हो। तर महाधिवेशन सकिने वित्तिकै पार्टीलाई एक बनाउनुपर्यो। जुन शेरबहादुरजीले सक्नुभएन। आजको मितिमा मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ,” उनले भने।
पार्टीमा अहिले धेरै गुट उपगुट छन्। महाधिवेशनका लागि यसो हुनु स्वाभाविक पनि हो। तर महाधिवेशन सकिने वित्तिकै पार्टीलाई एक बनाउनुपर्यो। जुन शेरबहादुरजीले सक्नुभएन। आजको मितिमा मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ।
- डा. शशांक कोइराला
कोइरालाले तोकिएकै मिति फागुन ७ गते महाधिवेशन सम्पन्न भए मात्रै आगामी निर्वाचनमा पार्टीलाई सही स्थानमा ल्याउन सकिने बताए। कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए।
कोइरालाले अहिलेको सरकारबाट लोकतन्त्र खतरामा परेको भन्दै सरकारले पटकपटक संविधान र ऐन कानून विपरीत काम गरिरहेको उनको आरोप छ।
उनले देश संघीय संरचनामा गएपछि कम्युनिष्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको भन्दै चिन्ता व्यक्त गरे। लोकतन्त्रलाई जोगाउन भए पनि अहिले डेमोक्य्राटिक अलाइन्सको आवश्यकता रहेको कोइरालाको तर्क छ।
“लोकतन्त्र स्थापित नहुँदासम्म अलाइन्स गर्नुपर्छ। डेमाेक्रेसी अहिले पनि खतरामा छ। कम्युनिष्टहरू डेमाेक्रेसीमा विश्वास गर्दैनन्, संसदीय व्यवस्थामा उनीहरू विश्वास गर्दैनन्। त्यसलाई दृष्टिगत गरेर मैले अलाइन्सको कुरा गरेको हो,” उनले भने।