कार्यदलको प्रतिवेदनबारे ओली–दाहालबीच मंगलबार छलफल हुने
पार्टी विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मंगलबार छलफल हुने भएको छ।
महासचिव बिष्णुप्रसाद पौडेल संयोजकत्वमा गठित कार्यदलले ६ भदौमा प्रतिवेदन बुझाएको छ। कार्यदलले बुझाएको प्रतिवेदनमाथि कमिटीमा छलफल हुनुअघि दुई अध्यक्ष ओली र दाहालबीच पहिले छलफल हुने भएको हो।
आज छलफल हुनसक्ने बताइएको थियो। तर, मंगलबार मात्रै छलफल हुने नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए। ओली र दाहालले गएको २९ भदौमा गठन गरेको कार्यदललाई १ भदौको सचिवालय बैठकले अनुमोदन गरेको थियो।
कार्यदलको प्रतिवेदन सचिवालय र स्थायी कमिटीमा छलफल गरी सहमति खोज्ने शीर्ष नेताहरुले तयारी गरेका छन्। गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक पार्टी विवाद उत्कर्ष पुगेपछि अनिश्चित बनेको छ। १३ साउनमा स्थायी कमिटी बैठकबारे ओली र दाहालले छुट्टा–छुट्टा निर्णय लिएपछि नेकपा विभाजन उन्मुख भएको थियो।
तर, कार्यदलले ४ मंसीर २०७६ को निर्णयलाई थप परिभाषित गर्ने र १५–१९ माघ २०७६ को केन्द्रीय कमिटीको निर्णयअनुसार, एकताको महाधिवेशनमा केन्द्रीत हुने प्रस्ताव सहित कार्यदलले प्रतिवेदन बुझाएको छ।