सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित २९ परिवारको स्थानान्तरण
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोमा घर गुमाएका २९ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न थालिएको छ। उनीहरुलाई अस्थायी बसोबासका लागि वडा नम्बर १ सेलाङस्थित बाँसखर्कमा सारिएको हो।
पहिलो चरणमा गत ३० साउनको पहिरोमा घर पूर्ण क्षति भएकाहरुलाई सारिएको र उक्त पहिरो गएको क्षेत्र आसपासका १७२ परिवारलाई पनि सार्ने योजना गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए। "तत्कालका लागि अस्थायी बसोबासको व्यवस्था मिलाइएको हो", उनले भने, "वागमती प्रदेश र स्थानीय सरकार मिलेर पहिरो प्रभावितका लागि स्थायी बसोबास गर्ने बनाउन पनि सुरक्षित ठाउँको खोजी भइरहेको छ।"
जुगल गाउँपालिका २ का वडाध्यक्ष प्रताप लामाका अनुसार, लिदी पहिरोमा घर गुमाएकाहरुलाई अस्थायी रुपमा राख्न वडा नम्बर १ सेलाङमा टेन्ट टाँगिएको छ। उनले हिजो ४० जनालाई लगिएको र आज करीब ७० जनालाई लगिने बताए।
अस्थायी बसोबासको प्रबन्ध गरिएको बाँसखर्कमा टेन्ट हाल्ने काम नेपाली सेना र नेपाल प्रहरीको अगुवाइमा भएको हो भने स्थानीयले पनि साथ दिएका छन्। बस्तीको शान्ति-सुरक्षाको जिम्मेवारी जिल्ला सुरक्षा समितिलाई दिइएको छ।
लिदी पहिरोमा पुरिएर ३९ जना बेपत्ता भएकोमा हालसम्म ३२ जनाको शव भेटिएको छ। पहिरोमा बेपत्ता अन्य सात जनाको खोजी जारी रहेको वडाध्यक्ष लामाले बताए। उनका अनुसार, सो पहिरो नजिकैका १७२ घरलाई पनि स्थानान्तरण गर्न सूचना टाँसिइसकेको छ।
सहयोग जुटाउँदै उपाध्यक्ष
लिदीका पहिरो पीडितहरुका लागि देश-विदेशबाट आर्थिक तथा राहत सामग्री सहयोग आउने क्रम जारी छ। कतिपयले गाउँपालिकाको ब्याङ्क खाता मार्फत सहयोग गरिरहेका छन् भने व्यक्तिगत सहयोग गर्नेहरुले जनप्रतिनिधि मार्फत सहयोग उपलब्ध गराइरहेका छन्।
सहयोग संकलन गरेर पहिरो प्रभावितहरुसम्म पुर्याउने काममा जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङ लागिपरेकी छिन्। पीडितहरुलाई खाद्यान्न र लुगाफाटो तत्कालै आवश्यक पर्ने भएकाले आफूले दाताहरुबाट सहयोग जुटाएर लगिदिने गरेको उपाध्यक्ष तामाङले बताइन्।
उनले भनिन्, “पहिरो प्रभावितहरुलाई लत्ताकपडादेखि खानेकुरा अहिले नै चाहिएको छ। अर्कातिर, सहयोगी दाताहरुले पीडितहरुको हातमै पुर्यााइदिनु भनेकाले सहयोग लिएर उहाँहरुसम्म पुर्याउने गरिरहेकी छु।”