रौतहटमा ३०० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा
रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीस्थित जय किसान पोलिटेक्निकल इन्स्टिच्युटको भवनमा ३०० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको पहलमा जिल्लाका सम्पूर्ण स्थानीय तहको सहयोगमा व्यवस्थित आइसोलेसन सेन्टर निर्माण गरिएको हो। गत हप्ता सबै स्थानीय तहका प्रमुखहरूले जिल्लामा व्यवस्थित आइसोलेसन सेन्टरको निर्माण र सञ्चालनको लागि रु.५ लाख दिने निर्णय गरेका थिए। देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्रप्रसाद पटेलको संयोजकत्वमा आइसोलेसन सेन्टर व्यवस्थापनको लागि उपसमिति पनि गठन गरिएको थियो।
जिल्लामा व्यवस्थित आइसोलेसन नहुँदा संक्रमितहरु घरमै बसिरहेका थिए। जसकारण स्वास्थ्यकर्मीको पहुँच पुग्दैन थियो। संक्रमण फैलने जोखिम पनि थियो। कतिपय संक्रमित बजारतिर निस्कने गरेको पाइएको थियो।
आइसोलेसन सेन्टरमा एकजना मेडिकल अधिकृतको मातहतमा स्वास्थ्य प्राविधिकसहित चार जनाको टोली खटाइएको छ। थप स्वास्थ्यकर्मी तथा कर्मचारी खटाउने तयारी भइरहेको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णा साहले जानकारी दिएका छन्।
जिल्ला अस्पताल गौरमै पीसीआर परीक्षण गर्ने तयारी पनि भइरहेको छ। पीसीआर मेसिन ल्याउने तयारी भएकाले जिल्ला अस्पताललाई प्राविधिक रुपमा तयार गर्न थालिएको डा. साहले बताए।
-सञ्जय मित्र/रौतहट