अमेरिकामा कोरोनाका गम्भीर बिरामीको प्लाज्मा थेरापीबाट उपचार गर्न स्वीकृति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमितहरुको आपतकालीन उपचारका लागि प्लाज्मा थेरापी गर्ने स्वीकृति दिएको जनाएका छन्।
ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले गम्भीर अवस्थाका बिरामीलाई प्लाज्मा थेरापी उपचार गर्न स्वीकृति दिएको बताएका हुन्। त्यहाँको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए)ले प्लाज्मा थेरापीको स्वीकृति दिएको हो।
यसबाट धेरै जनाको ज्यान जोगिनसक्ने पनि ट्रम्पले बताएका छन्। उनले कोरोनाभाइरसलाई फेरि पनि ‘चिनिया भाइरस’ भन्दै यो विरुद्धको लडाइँ जित्ने बताए।
प्लाज्मा थेरापी गर्दा मृत्युदर ३५ प्रतिशतभन्दा कम हुने पनि पत्रकार सम्मेलनमा ट्रम्पले दाबी गरे। कोरोना संक्रमणबाट निको भएका अमेरिकीहरूलाई प्लाज्मा दान गर्न उनले आग्रह पनि गरेका छन्।
हालसम्म अमेरिकामा ७० हजार संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिएको उनले जानकारी दिए। अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ५८ लाख ७४ हजार पुगिसकेको छ।
तीमध्ये ३१ लाख ६७ हजार निको भएका छन्। २५ लाख २६ हजार उपचाररत छन्। मृतकको संख्या एक लाख ८० हजार नाघिसकेको छ।
-बीबीसीबाट