पीएसजीलाई हराउँदै बायर्नले जित्यो च्याम्पियन्स लिगको उपाधि
जर्मन क्लब बायर्न म्युनिखले आइतबार राति पोर्चुगलको लिस्बनमा भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको छ। बायर्नले १-० गोल अन्तरले पीएसजीलाई पराजित गरेर छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो।
सात वर्षपछि बायर्नलाई उपाधि दिलाउन किङ्स कोमनले एक मात्र गोल गरे। उनी पीएसजीकै पूर्व खेलाडी हुन्। उनले खेलको ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गरेका थिए।
खेलमा आठ वटा पहेँलो कार्ड देखाइएको थियो। दुवै टोलीका चार/चार खेलाडीले पहेँलो कार्ड पाएका थिए। बलमा बायर्नले ६२ प्रतिशत नियन्त्रण जमाएको थियो।
पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो। नेयमार, एम्बाप्पे, एन्जेल डी मारिया, थियागो सिल्भा जस्ता स्टार खेलाडी भएको पीएसजीको उपाधि जित्ने सपना भने पूरा भएन।
बायर्न भने सन् २०१३ पछि पहिलो पटक फाइनल पुगेको हो। च्याम्पियन्स लिग सर्वाधिक जित्नेमा बायर्न लिभरपुलसँगै संयुक्त रुपमा तेस्रो स्थानमा उक्लेको छ। रियल मड्रिडले सर्वाधिक १३ र एसी मिलानले सात पटक उपाधि जितेका छन्।
-बीबीसीबाट